काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल राष्ट्र बैंकले ५ वाणिज्य बैंकहरुलाई कारवाही गरेको छ। केन्द्रिय बैंकले राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई कारवाही गरेको हो। राष्ट्र बैंकले एकीकृत निर्देशन २०८० बमोजिम केही कर्जाहरुलाई सुक्ष्म निगरानी वर्गमा वर्गीकरण नगरेको, केही कर्जाहरुलाई कर्जाको भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरेको, कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, केही कर्जाहरुको जोखिम भार गणना नगरेको तथा चालुपुँजी कर्जा सम्बन्धी मार्गदर्शनमा भएका कतिपय व्यवस्थाहरुको पूर्ण पालना गरेको नपाइएकोले राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम सचेत गराएको छ। त्यस्तै, कुमारी बैंकलाई निष्कृय कर्जालाई वर्गीकरण नगरेको तथा न्यूनतम कर्जा नोक्सानी व्यवस्था कायम नगरेको पाइएको हुँदा बैंकका प्रमुख कार्यकारी अधिकृतलाई केन्द्रिय बैंकले सचेत गराएको हो। केन्द्रिय बैंकले लक्ष्मी सनराइज बैंक कर्जा जोखिम व्यवस्थापनमा गम्भिर नरहेको पाएको छ। संस्थापकको कल खाता तथा चालु खाता सञ्चालन गरी चालु खातामा दैनिक मौज्दात रकम ऋणात्मक रही नियम विपरीत अप्रत्यक्ष रुपमा कर्जा सुविधा उपलब्ध गराएको पाइएको छ। साथै, चालु पूँजी प्रकृतिको कर्जाका लागि लामो समयावधिको आवधिक कर्जा प्रदान गरेको, मार्जिन प्रकृतिका कर्जाको प्रयोजनका लागि आवधिक कर्जा प्रदान गरेको, कर्जामा निहित जोखिमलाई समयमै व्यवस्थापन नगरी व्यक्तिगत आवधिक कर्जा तथा लामो समयदेखि सञ्चालनमा रहेका ठूला व्यावसायिक संस्थाहरुलाई समेत बलुनिङ किस्ता कायम गरेको राष्ट्र बैंकले आरोप लगाएको छ। यस्तै, लक्ष्मी सनराइज बैंकमा २ प्रतिशत शेयर रहेका एक संस्थापकले राष्ट्र बैंकको स्वीकृति नलिई संस्थापक शेयर धितो राखी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट ऋण लिएको र लक्ष्मी सनराइजले ऋणको अभिलेख पनि नराखेको राष्ट्र बैंकले जनाएको छ। यी सबै नियम विपरीत कार्य गरेकोमा लक्ष्मी सनराइजका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले नसिहत दिएको छ। यता, नेपाल बैंकले रणनीतिक योजना, वार्षिक बजेट तथा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गराउन नसकेको, बजेट तथा कार्यक्रम र रणनीतिक योजनाबीच प्रभावकारी तादात्म्यता गराउन नसकेको, समयमै कर्जा स्वीकृति तथा नवीकरण गराउन नसकेको, उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरु बीच आपसी समन्वय गर्नरगराउन नसकेको देखिएकोले प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ। साथै, बैंकका सञ्चालक समितिका तत्कालिन अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीले आफ्नो पद र नाम दुरुपयोग गरी व्यक्तिगत फाइदा लिएको पाइएपछि ५ लाख रुपैयाँ जरिवाना गरिएको छ।