काठमाडौं । नियाम निकाय बीमा प्राधिकरणको सक्रियता र बीमकहरुको साथ सहयोगले बीमा चेतना बढेसँगै नेपालमा बीमाको पहुँच वृद्धि हुँदै गएको छ । नेपालमा बीमाको पहुँच ४७.३९ प्रतिशत नागरिकमा पुगेको छ । नेपाल बीमा प्राधिकरणबाट प्राप्त बैशाख मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । यो बीमा पहुँच हालसम्मकै उच्च हो । गत चैत मसान्तमा पनि बीमा पहुँच ४४.६४ प्रतिशत पुगेर रेकर्ड ब्रेक गरेको थियो । बैशाखमा त्यो २.७५ प्रतिशत विन्दुले बढेर ४७.३९ प्रतिशतमा पुगेर नयाँ रेकर्ड कायम भएको हो । एक महिनामै २.७५ प्रतिशत विन्दुले बीमा पहुचँ बढ्नलाई सकरात्मक रुपमा हेरिएको छ । यसअघि आव २०७९–८० को अन्त्यसम्ममा नेपालमा बीमाको पहुँच ४४.३८ प्रतिशत पुगेको थियो । बीमा पहुँचमा त्यसबेलासम्मका लागि त्यो विन्दु नै उच्च थियो । तर, त्यसपछि अर्थतन्त्रमा देखिएको शिथिलताका कारण नयाँ बीमा गर्ने व्यक्तिको संख्यामा कमी आउने, सरेन्डर बढ्ने लगायतले गर्दा बीमा पहुँच घट्न थालेको थियो । २०८१ साउनसम्म आउँदा बीमा पहुँच ४२.७० सम्ममा सिमित भएको थियो । २०८१ भदौ यता भने बीमा पहुँच बढ्दो क्रममा थियो । त्यसक्रममा चैत मसान्तसम्म आउँदा बीमाको पहुँचले पुरानो रेकर्ड तोडर नयाँ रेकर्ड कामय गरेको हो । अहिले बैशाखमा बीमा पहुँच थप बढेर नयाँ विन्दुमा पुगेको हो । म्यादी, लघु म्यादी, वैदेशिक रोजगार जीवन बीमालेख सहित गरेर बीमाको पहुँचको अवस्था यस्तो देखिएको हो । म्यादी, लघु म्यादी र वैदेशिक रोजगार बीमालेख हटाउँदा १६.७७ प्रतिशत नेपालीमा बीमा पहुँच पुगेको देखिन्छ । वैदेशिक रोजगार जीवन बीमालेख बाहेकको अवस्थामा भने ३९।३१ प्रतिशत नेपालीमा बीमा पहुँच पुगेको छ । बैशाखमसान्तसम्म आउँदा सक्रिय जीवन बीमालेखको संख्या भने एक करोड ५३ लाख ६ हजार ९९३ रहेको छ । कतिपयले दोहोरो बीमालेख पनि खरिद गरेका हुन्छन् । त्यस्तो प्रवृत्तिलाई लक्षित गर्दै सक्रिय बीमालेखको संख्यालाई पाँच प्रतिशतले घटाएर बीमा पहुँच गणना गर्ने अभ्यास छ ।
लघुबीमा कम्पनीहरुको आगमन, बीमा कम्पनीको बजार विस्तार रणनीति, बीमा प्राधिकरणले स्थानीय स्तरमै गरेको अन्तरक्रिया कार्यक्रम लगायतका कारण बीमा पहुँच बढ्दै गएको बताइन्छ । बैशाखसम्म जीवन बीमाशुल्क संकलन भने १५.५५ प्रतिशतले बढेको छ । गत आवको बैशाख मसान्तसम्म एक खर्ब २१ अर्ब ४६ करोड रुपियाँ बीमाशुल्क संकलन भएको थियो । चालु आवको बैशाख मसान्तसम्म एक खर्ब ४० अर्ब ३५ करोड रुपियाँ बीमाशुल्क संकलन भएको छ । अहिले नेपालमा १४ ठूला र तीन लघु जीवन बीमा कम्पनी सञ्चालनमा छन् ।