काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणको आर्थिक वर्ष २०८२।०८३ को बार्षिक नीति तथा कार्यक्रममाथि छलफल सम्पन्न भएको छ । छलफल कार्यक्रम दुई दिनसम्म चलेको थियो । प्राधिकरणका अनुसार आव २०८१।०८२ को बार्षिक नीति तथा कार्यक्रमको समीक्षा कार्यक्रम पनि सम्पन्न भएको छ । चालु आवमा प्राधिकरणले लिएको नीति तथा लक्ष्य राखिएका कार्यक्रमहरुको सफलता, नतिजा र प्रभावमाथि समीक्षा गरिएको थियो । त्यस्तै, छलफल कार्यक्रममा आगामी आवमा गरिने कार्यक्रमहरुको सूचि तय गरिएको छ । आगामी आवमा प्रदेश सरकार, स्थानीय सरकारसँग बीमा सचेतना कार्यक्रमदेखि मिडियामार्फत बीमाको सचेतना फैलाउने कार्यक्रमसम्म समावेश गरेर बार्षिक नीति तथा कार्यक्रम तयार पारिएको छ । आगामी आवमा बीमा सम्बन्धी एकीकत निर्देशिका जारी गर्ने बिषयमा सबैभन्दा धेरै छलफल भएको छ । त्यस्तै, बीमा सम्बन्धी थेसिस गर्नेलाई छात्रवृत्ति दिने, नियमन प्रभावकारी बनाउने, तालिम सञ्चालन गर्ने बिषयहरू समावेश गरिएको प्राधिकरणले जनाएको छ ।