काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले अवितरित ७ लाख ९४ हजार ९७१।१८७ कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको छ । फाइनान्सले हकप्रद शेयर निष्कासन गरी आवेदन माग गरेकामा संस्थापक र सर्वसाधारण शेयर बाँडफाँट भई बाँकी रहेको उक्त शेयर लिलाम बढाबढमार्फत बिक्री खुला गरेको हो । यो शेयर जोकोही व्यक्ति, कम्पनी वा संघसंस्थाले खरिद गर्न पाउनेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपियाँ तोकिएको छ । इच्छुक खरिदकर्ताले प्रचलित मूल्यभन्दा बढी बोलकबोल गरी आफूले प्रतिकित्ता के कति दररेटमा लिने हो सोको विवरणसमेत खुलाएर गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।बोलपत्र भदौ १२ गते देखि २६ गतेसम्म पेश गर्न सकिनेछ । कम्तीमा १ हजार कित्ता र बढीमा १० ले भाग जाने सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । बोलपत्र फाराम शेयर बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका साथै नेपाल फाइनान्सका केन्द्रीय कार्यालय, बनेपा, माछापुच्छ्रे, लगनखेल र तिलोत्तमा शाखा कार्यालयमा बुझाउन सकिनेछ । साथै प्रभु बैंकको विराटनगर, वीरगन्ज, पोखरा, नेपालगन्ज, सुर्खेत र धनगढी शाखा कार्यालयमा पनि बोलपत्र फाराम पाइनेछ भने सोही स्थानमा बुझाउन पनि सकिनेछ ।