काठमाडौं । दिनदिनै आफ्नै रेकर्ड ब्रेक गर्दै ऐतिहासिक मूल्य कायम गर्दै अघि बढेको सुनको मूल्य अझै कति बढ्ला ? अनुमान गर्न सकिने अवस्था छैन । सोमबार नेपाली बजारमा प्रतितोला २ लाख ३३ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा नेपालमा पनि बढ्छ । सुनको अन्तर्राष्ट्रिय दर भाउ हेर्ने हो भने यो निरन्तर उकालो लाग्ने क्रममा छ । केन्द्रीय बैंकहरूले सुन खरिदलाई प्राथमिकताका रुपमा लिएको कारण यो मूल्य अझै बढ्ने अनुमान व्यवसायीहरूले गरेका छन् ।सुनचाँदी व्यवसायीहरुका अनुसार अबको एकाध महिनामै सुनको मूल्य प्रतितोला २ लाख ६० हजार नाध्ने अनुमान छ। सुनको मूल्य वृद्धिको पछाडि विभिन्न कारणहरु औंल्याउँछन् सुनचाँदी व्यवसायीहरु । व्यवसायीहरुका अनुसार अन्य धातुको तुलनामा सुनचाँदीको अधिक वृद्धिको कारण यसको बहुआयामिक माग हो । सुनको मूल्य अधिक वृद्धि हुनुमा विभिन्न कारणमध्ये एक कारण केन्द्रीय बैंकहरुको ब्याजदरमा कटौती गर्दा सुनको मूल्य बढ्ने व्यवसायीहरु बताउँछन् ।
सेप्टेम्बरमा मात्रै अमेरिकाको केन्द्रीय बैंक फेडरल रिर्जभले ०.२५ प्रतिशतले ब्याजदर बढाएर ४।२५ प्रतिशत कायम गरेको छ । अमेरिकाको मुद्रास्फीति २।९० प्रतिशतले वृद्धि हुँदा बेरोजगार दर बढेको छ । यो चुनौतीलाई सामना गर्नकै लागि अमेरिकाले ब्याजदर घटाएको हो । विज्ञहरुका अनुसार निकट भविष्यमै अमेरिकाले फेरी ब्याजदर थप घटाउँदैछ । क्यानडा, बेलायत, युरोपियन युनियन, अष्ट्रेलिया, मेक्सिको, रूसलगायत धेरै देशहरूका केन्दिय बैंकले पनि आर्थिक मन्दी सामना गर्न यो वर्ष ब्याजदर घटाएका छन् । घट्दो ब्याजदरको कारणले उच्च प्रतिफलको लागि सुनचाँदीमा लगानी आकर्षित भएको बताइन्छ । अर्को कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएका नयाँ राजनीतिक तथा आर्थिक नीतिले सुनको मूल्य बढ्न मलजल गरेको बताइन्छ । विश्वमा वास्तविक मूल्यवृद्धि अझै उच्च रहेको छ । क्रयशक्ति घट्दा लगानीकर्ताले सम्पत्ति सुरक्षित गर्न सुन रोज्ने व्यवसायीहरु बताउँछन् । त्यस्तै विश्वभर सरकारी ऋण बढ्दै गएको छ । ऋण विस्तार र सुनको मूल्यबीचको सम्बन्ध लामो समयदेखि सकारात्मक रहेको छ । ऋण बढ्दै जाँदा सुनको मूल्य बढ्दै जान्छ । अर्कोतर्फ, सेयर बजार केही ठूला कम्पनीमै केन्द्रित भएकाले लगानीकर्ताले वैकल्पिक सम्पत्तितर्फ ध्यान दिएका छन्, जसमा सुन प्रमुख विकल्प बनेको छ । अन्तर्राष्ट्रिय विश्लेषकहरुले सन् २०२५ को अन्तिमसम्ममा सुनको मूल्य प्रतिऔंस ३५ सयदेखि ४३ सय अमेरिकी डलरसम्म पुग्ने अनुमान गरेका छन् । यो प्रक्षेपण हालको प्रवृत्तिहरुको आधारमा गरिएको हो । वास्ताविक मूल्य भने ब्याजदर नीति, आर्थिक, राजनैतिक र भूराजनीतिक परिवर्तनहरुको आधारमा नै निर्भर रहने विश्लेषकहरु बताउँछन् । विश्लेषकहरुका अनुसार सन् २०३० सम्ममा सुनको मूल्य प्रतिऔंस पाँच हजार डलरसम्म पुग्ने अनुमान गरेका छन् । त्यसपछि पनि सुनको मूल्यवृद्धि जारी रहने सम्भावना विश्लेषकहरुले गरेका छन् । नेपाली व्यवसायीहरुले पनि सुनको मूल्य छिट्टै ३ लाख रुपैयाँ नाघ्ने अनुमान गरिरहेका छन् ।