काठमाडौं । मुलुक आर्थिक रुपमा झन झन अन्यौलपूर्ण अवस्थामा अघि बढेको छ । चालु आर्थिक बर्ष २०८२–८३ असोज महिनामा घर जग्गा कारोबार झन् घटेको देखिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार असोजमा देशभर २३ हजार ३५३ वटा मात्रै घरजग्गा कारोबार भएका छन् । लिखित पारितका आधारमा यस्तो देखिएको हो । गत साउनमा यस्तो कारोबार संख्या ३१ हजार ६२१ वटा थियो । भदौमा त्यो घटेर २७ हजार ४९४ मा सीमित भयो । असोजमा त्यो थप घटेर २३ हजार ३५३ मा सीमित भएको तथ्यांकले देखाउँछ । गत आवको असोज महिनामा भने देशभर ३० हजार ५२७ वटा घरजग्गा कारोबार भएका थिए । यो तथ्यांकले घरजग्गा कारोबारमा पुनः शिथिलता देखिएको छ । यसै पनि पछिल्लो समय घरजग्गा कारोबार फस्टाउन सकेको थिएन । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलन पछिको अवस्थाका कारण पनि घरजग्गा कारोबार थप प्रभावित भएको देखिन्छ । कित्ताकाट नखुल्दा पनि घरजग्गा कारोबार प्रभावित भएको देखिन्छ । आम मानिस दशैं तिहार जस्तो चाडपर्वमा व्यस्त हुँदा पनि कारोबार कमी आएको कुन सक्ने देखिन्छ । यद्यपि, बिगतको बर्षहरुको तुलनामा असोजको कारोबारमा कमी नै देखिन्छ ।
तथ्यांक अनुसार असोजमा काठमाडौं उपत्यकामा पनि घरजग्गा कारोबार घटेको छ । गत भदौमा काठमाडौं उपत्यकामा तीन हजार २५६ वटा घरजग्गाको कारोबार भएको थियो । असोजमा भने २५ सय ७४ वटा यस्ता कारोबार भएको देखिन्छ । असोजमा ललितपुरको लगनखेल मालपोत कार्यालयबाट ६९७ र गोटीखेल मालपोत कार्यालयबाट १ वटा मात्रै घरजग्गा कारोबार भएको छ । भक्तपुर मालपोत कार्यालयबाट ७३३ वटा घरजग्गा कारोबार भएको देखिन्छ ।
यस्तै, काठमाडौंमा डिल्लीबजार मालपोत कार्यालयबाट १५०, चावहिल मालपोत कार्यालयबाट ३७७, कलंकी मालपोत कार्यालयबाट ९, मनमैजु मालपोत कार्यालयबाट १५३, साँखु मालपोत कार्यालयबाट ३३० र टोखा मालपोत कार्यालयबाट १२४ घरजग्गाका कारोबार भएका छन् ।
तथ्यांक अनुसार असोजमा सुनसरीको इनरुवा मालपोत कार्यालयबाट सबै भन्दा धेरै कारोबार भएको छ । त्यहाँबाट एक हजार २५२ वटा घरजग्गाको लिखित पारित भएको देखिन्छ । दोस्रो स्थानमा धनुषाको जनकपुरधाम मालपोत कार्यालय रहेको छ । त्यहाँबाट ९९७ वटा यस्तो कारोबार भएको छ । तेस्रो स्थानमा भने मोरङको बेलवारी मालपोत कार्यालय रहेको छ । त्यहाँबाट ८९१ वटा घरजग्गा कारोबार भएको छ ।
तथ्यांक अनुसार चालु आवको तीन महिनाको कुल घरजग्गा कारोबार ८२ हजार ४६८ वटा रहेको छ । गत आवको तीन महिनामा एक लाख सात हजार १६० वटा घरजग्गा कारोबार भएको थियो । गत आवभर नेपाल भर पाँच लाख ९० हजार ५४३ वटा घरजग्गा कारोबार भएका थिए । यो तथ्यांकले चालु आवमा घरजग्गा कारोबार कम भएको देखाउँछ । चालु आवको तीन महिनामा घर जग्गा कारोबारमा २३ प्रतिशतको कमी देखिएको छ ।
समीक्षा महिनामा घरजग्गा कारोबारबाट सरकारले दुई अर्ब ७५ करोड ८५ लाख ५७ हजार रूपियाँ राजस्व संकलन गरेको छ । घरजग्गा सम्बन्धी कारोबार गर्दा लाग्ने सम्पूर्ण करको शीर्षकबाट यतिका राजश्व उठेको विभागको भनाइ छ । गत आवको असोजमा तीन अर्ब आठ करोड १२ लाख ४१ हजार रूपियाँ राजस्व उठेको थियो । राजस्व संकलनमा भने सामान्य दरमा कमी आएको देखिन्छ । चालु आवको तीन महिनामा भने नौ अर्ब १८ करोड ८४ लाख १२ हजार रूपियाँ राजस्व उठेको छ । गत आवमा तीन महिनामा भने १० अर्ब ६५ लाख ८३ हजार राजस्व उठेको थियो । गत आवभर ५३ अर्ब ५८ करोड ८२ लाख ७९ हजार रूपियाँ राजस्व घरजग्गा कारोबारबाट उठेको थियो ।