काठमाडौं । सेवा प्रदायक कम्पनी परिवर्तन गर्ने बेला पर्याप्त स्टक नराख्दा नेपालमा राहदानी अभाव भएको छ । राहदानी विभागले आइतबार सूचना नै जारी गर्दै राहदानीको अभाव भएकोले अत्यावश्यकबाहेक आवेदन नदिन सर्वसाधारणलाई आग्रह गरेको छ । सरकारले केही समयअघि मात्रै पासपोर्ट छाप्ने जिम्मा नयाँ कम्पनीलाई दिएको थियो । गत साउन महिनामा खरिद सम्झौता भएअनुसार आगामी फागुन ११ बाट नयाँ कम्पनीले सेवा दिने भएकाले त्यतिबेलासम्म राहदानी लिन समस्या हुने बताइएको छ । विभागका अनुसार अहिले नयाँ आपूर्तिकर्ता र हालको आपूर्तिकर्ताबीच तथ्यांक हस्तान्तरणको काम भइरहेको छ । अहिले सरकारसँग मौज्दात रहेको राहदानीको संख्या पनि अत्यन्त कम भएकोले अत्यावश्यकबाहेकले राहदानीका लागि आवेदन नदिन पनि विभागले आग्रह गरेको छ । राहदानी विभागले सोमबारदेखि दैनिक १००० वटा राहदानी मात्रै वितरण गर्ने भएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै सोमबार साँझ ५ बजेदेखि दैनिक १००० वटा मात्रै अपोइन्टमेन्ट स्लट खोल्ने निर्णय गरेको हो । जुन अत्यावश्यक पासपोर्ट चाहिनेहरूको लागि रहेको विभागका अधिकारीहरूले बताएका छन् । यसको अर्थ पहिलो एक हजार जनाले भन्दा बढीले राहदानीको फारम भर्नका लागि अपोइन्टमेन्ट पाउने छैनन् ।