काठमाडौं । बाँके जिल्ला नेपालगंज उपमहानगपालिक– १ खजुरा रोड स्थित नेपाल पान मसला उद्योग प्रोप्राइटर कुतबुद्दिन शेषले राजस्व चुहावट गरेको अभियोगमा ७ करोड ५२ लाख विगो कायम गरी बाँके जिल्ला अदालतमा भदौ २३ गते राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ ।
नेपाल पान मसला उद्योगका प्रोप्राइटर कुतबुद्दिन शेष समेतले प्रचलित कानून बमोजिम अन्तःशुल्क स्टिकर टाँस नगरिएको तथा खरीद खाता, बिक्री खाता, उत्पादन खाता, अन्तःशुल्क स्टिकरको विवरण, बैंक स्टेटमेन्ट, विद्युत खपतको विवरण एवम् उद्योग विभागबाट कच्चा पदार्थ तथा प्याकेजिङ्ग मटेरियल खपत प्रयोग अनुपातको आधारमा छानवीन तथा अनुसन्धान गर्दा प्राप्त प्रमाणको आधारमा प्रतिवादीले कच्चा पदार्थको हिसाब किताब एवम् लेखा लापरवाही तथा त्रुटिपूर्ण तरिकाले राखी प्रचलित कानून बमोजिम कच्चा पदार्थ एवम् प्याकेजिङ्ग मटेरियलको खपत र सो बाट हुने उत्पादनको हिसाब उद्योग विभागबाट प्राप्त भएको नर्म्स अनुसार नराखी बढी गुट्खा उत्पादन गरी स्टिकर नलगाएर बिक्री वितरण गरेको देखिँदा उक्त कार्य राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन 2052 को दफा ४ (क) र (ख) अनुसार राजस्व चुहावट मानिने कार्य गरेको दाबी राजस्व अनुसन्धान विभागको छ ।