free website hit counter

बैंकमा देखियो जेनजी आन्दोलनको असर

beemaadmin
२०८२ कार्तिक २३, आईतवार

काठमाडौं । अर्थतन्त्र यति सुस्त गतिमा अघि बढ्दा पनि आफूलाई सन्तुलित बनाइरहेका वित्तीय संस्थाहरु जेनजी आन्दोलनको असरबाट भने प्रभावित बनेका छन् । चालु आर्थिक वर्ष २०८२–८३ को ३ महिनामा वाणिज्य बैंकहरुको नाफामा व्यापक गिरावट आएको छ । सार्वजनिक वित्तीय विवरण अनुसार २० वटा वाणिज्य बैंकको खुद नाफामा १८।८२ प्रतिशत अर्थात् ३ अर्ब ४ करोड ७६ लाखले रुपैयाँ गिरावट आएको हो । चालु आवको असोज मसान्तसम्ममा बैंकहरुले १३ अर्ब १४ करोड ८ लाख रुपैयाँ खुद नाफा गरेका छन् । जबकि गत वर्षको असोजसम्ममा बैंकहरुले १६ अर्ब १८ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । बैंकहरुको सञ्चालन लागत, कर्जाको गुणस्तर र तरलता व्यवस्थापनका कारण बैंकहरुको नाफामा ठूलो असर परेको बैंकरहरु बताउँछन् । देशको पछिल्लो अवस्थाबाट सिर्जना भएको असामान्य परिस्थितीबाट समग्र अर्थतन्त्रमा देखिएको संरचनागत शिथिलताका कारण पनि बैंकमा असर परेको बैंकरहरुको भनाइ छ । साथै, केही नीतिगत कारणबाट आर्थिक क्रियाकलापमा देखिएको सुस्तताका कारण देशको व्यवसायिक वातावरण सकारात्मक बन्न नसकेको कारण व्यवसायीहरूको मनोबल न्यून रही कर्जाको माग तथा विस्तार उल्लेख्य रूपमा बढ्न नसकेको बैंकरहरु बताउँछन् । साथै, बाढी पहिरो, जेनजी आन्दोलन लगायत कारण पनि बैंकको ब्याज तथा कर्जाको साँवा असुलीलाई समेत नकारात्मक असर पर्न गएको छ । समीक्षा अवधिमा विभिन्न ५ बैंकको मात्रै नाफा बढेको छ भने अन्य सबै बैंकको नाफामा गिरावट आएको छ । चालु आवको असोजसम्ममा राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा सबैभन्दा धेरै बढेको छ । बैंकको नाफा २८९.७७ प्रतिशत बढेर ५८ करोड ९७ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको असोजमा बैंकले १५ करोड १३ लाख रुपैयाँ नाफा गरेको थियो । यस्तै, ग्लोबल आइएमई बैंकको २२.९१ प्रतिशत बढेर १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ, सानिमा बैंकको १३.८६ प्रतिशत बढेर ४५ करोड ४९ लाख रुपैयाँ, एनआइसी एशिया बैंकको १०.५२ प्रतिशत बढेर १२ करोड २१ लाख रुपैयाँ र एभरेष्ट बैंकको ४.५६ प्रतिशत बढेर १ अर्ब १७ करोड ९२ लाख रुपैयाँ नाफा गरेका छन् ।
चालु आवको ३ महिनामा विभिन्न १५ वाणिज्य बैंकको नाफा घटेको छ । जसमध्ये सिटिजन्स बैंकले २२ करोड ४ लाख रुपैयाँ नोक्सानी बेहोरेको छ । जबकि सो बैंकले गत वर्षको असोजमा १९ करोड ८२ लाख रुपैयाँ नाफा गरेको थियो । यस्तै, कृषि विकास बैंकको ९६.९९ प्रतिशत घटेर ५७ लाख ३८ हजार रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमिब)को ९६.९२ प्रतिशत घटेर ४ करोड ५० लाख ५० हजार रुपैयाँ, प्रभु बैंकको ४६.३३ प्रतिशत घटेर ५५ करोड ८४ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यस्तै, नेपाल एसबीआई बैंकको ३८.४३ प्रतिशत घटेर ५० करोड १५ लाख ६५ हजार रुपैयाँ, लक्ष्मी सनराइज बैंकको ३८ प्रतिशत घटेर ३३ करोड २३ लाख ३१ हजार रुपैयाँ, एनएमबि बैंकको २० प्रतिशत घटेर ९१ करोड ५९ लाख ८३ हजार रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १९.६२ प्रतिशत घटेर ६९ करोड २१ लाख ६९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । सार्वजनिक तथ्याङ्क अनुसार माछापुच्छे बैंकको १६.९५ प्रतिशत घटेर ४१ करोड ७९ लाख ५६ हजार रुपैयाँ, सिद्धार्थ बैंकको १५.१७ प्रतिशत घटेर ३२ करोड ४० लाख ९१ हजार रुपैयाँ, नबिल बैंकको १४.५६ प्रतिशत घटेर १ अर्ब ७५ करोड ६९ लाख ९१ हजार रुपैयाँ नाफा गरेका छन् । यस्तै, हिमालयन बैंकको ३.२४ प्रतिशत घटेर ७० करोड २८ लाख ९४ हजार रुपैयाँ, नेपाल बैंकको २.३१ प्रतिशत घटेर ५८ करोड ८२ लाख ८७ हजार रुपैयाँ, प्राइम बैंकको २।२० प्रतिशत घटेर १ अर्ब २५ करोड ८४ लाख ३० हजार रुपैयाँ, कुमारी बैंकको २ प्रतिशत बढेर १ अर्ब ५ करोड ६५ लाख ३१ हजार रुपैयाँ नाफा गरेको तथ्याङ्कले देखाएको छ ।

सम्बन्धित समाचार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार