free website hit counter

बैंकका कर्मचारीमाथि कुटपिटको घटनामा उपमेयर नै फरार

beemaadmin
२०८२ पुष २, बुधबार

काठमाडौं । ऋण असुलीका लागि पुगेका ज्योति विकास बैंकका कर्मचारीलाई मोसो दल्नुका साथै कुटपिट घटनाका आरोपित सप्तरी जिल्लाको सप्तकोशी नगरपालिकाका उपमेयर रीताकुमारी चौधरीसहित पाँचजना फरार भएका छन् । उपमेयर चौधरीसहित उनका छोरा सिरज तथा सप्तकोशी इन्ट्रिग्रेटेड एग्रो फार्मका सेयरधनीहरू प्रभुनारायण चौधरी र पञ्चदेव चौधरी तथा स्थानीय रवीन्द्र स्वर्णकार फरार भएका हुन् । उपमेयरका पतिसमेत रहेका कम्पनीका सेयरधनी सञ्जीवकुमार चौधरी र उमाकान्त चौधरी भने पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी माधवप्रसाद काफ्लेले दुईजना पक्राउ परे पनि उपमेयरसहित पाँचजना फरार रहेको बताए । ज्योति विकास बैंक प्रादेशिक कार्यालय बर्दीवासका उपप्रबन्धक सुमित श्रेष्ठ र रूपनी शाखाका कर्मचारी सविन श्रेष्ठमाथि उपमेयर चौधरीसहित कम्पनीका सेयरधनी तथा आफन्तले गत बुधबार घेराबन्दी गर्दै मोसो दल्ने, जुत्ताको माला लगाउने, गालीगलौज गर्ने र लठ्ठीले कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । त्यसपछि बैंकले उपमेयर चौधरीसहित सातजनाविरुद्ध अपहरण, शरीर बन्धक, कुटपिट र लुटपाटसम्बन्धी कसुरमा जाहेरी दिएको थियो । बैंकका अनुसार सप्तकोशी नगरपालिका– ७ ओद्राहास्थित सप्तकोशी इन्ट्रिग्रेटेड एग्रो फार्म प्रालिले २३ वैशाख ०७८ मा बैंकबाट चार करोड ५० लाख रुपैयाँ ऋण लिएको थियो । ऋण लिँदा कम्पनीको नाममा रहेको ओद्राहास्थित तीन बिघा १४ कट्ठा र कञ्चनरूप नगरपालिका– १२ मा रहेको १६ कट्ठा आठ धुर जग्गा धितो राखिएको थियो । तर, २८ चैत ०८१ यता किस्ता नतिरेपछि बैंकले अघिल्लो शुक्रबार धितो लिलामीको सूचना निकालेको थियो । सूचनाको म्याद पूरा हुन नपाउँदै बैंकले टिकटकमार्फत जग्गा बिक्रीसम्बन्धी विज्ञापन गरेको भन्दै प्रालिका सेयरधनी आक्रोशित बनेका थिए । गत बुधबार फिल्डमा पुगेका बैंक कर्मचारीमाथि आक्रमण भएको बताइन्छ ।

सम्बन्धित समाचार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार