free website hit counter

घरजग्गा कारोबारले लियो गति, ४ अर्ब ८४ करोड राजश्व संकलन

beemaadmin
२०८२ पुष ४, शुक्रबार

काठमाडौं । चालु आर्थिक बर्ष २०८२–८३ मंसिर महिनामा घर जग्गा कारोबार बढेको देखिएको छ । चालु आर्थिक बर्षको अघिल्ला चार महिना साउन, भदौ, असोज र कात्तिकको तुलनामा मंसिरमा घरजग्गा कारोबार बढी देखिएको हो । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार मंसिरमा देशभर ५१ हजार ६३२ वटा घर जग्गा कारोबार भएको छ । यो साउन, भदौ, असोज र कात्तिकको तुलनामा बढी हो । गत साउनमा यस्तो कारोबार संख्या ३१ हजार ६२१ वटा थियो । भदौमा त्यो घटेर २७ हजार ४९४ मा सीमित भयो । असोजमा त्यो थप घटेर २३ हजार ३५३ मा सीमित भएको तथ्यांकले देखाउँछ । कात्तिकमा भने २८ हजार ३८३ वटा यस्ता कारोबार भएका थिए । मंसिरमा ५१ हजार ६३२ वटा घरजग्गाका कारोबार भएका छन् । यसरी मंसिरमा घरजग्गा कारोबार उच्च भएको हो । बिशेषगरी सरकारले जग्गाको कित्ताकाट खुलाएपछि घरजग्गा कारोबार बढेको देखिन्छ । सरकारले गत कात्तिक २५ गते ‘भूउपयोग ९तेस्रो संशोधन० नियमावली, २०८२’ स्वीकृत गर्दै जग्गाको वर्गीकरण गर्ने म्याद आगामी असार मसान्तसम्म पुर्याएको छ । योसँगै आगामी असारसम्म वर्गीकरण बिनै जग्गाको कित्ताकाट गर्न सकिने भएको छ । कित्ताकाट खुलेसँगै जग्गाको खरिद बिक्री पनि बढेको व्यवसायीहरू बताउँछन् ।
सरकारले २०७९ जेठमा यो नियमावली जारी गरि जग्गाको वर्गीकरण गर्नुपर्ने व्यवस्था गरेको थियो । जग्गा वर्गीकरण गरेपछि मात्रै कित्ताकाट गर्न सकिने व्यवस्था गरिएको थियो । यसको जिम्मेवारी स्थानीय तहलाई थियो । तर, स्थानीय तहले समयमा जग्गाको बर्गिकरणको गर्न सकेनन् । फलस्वरुप कित्ताकाट पनि नहुँदा घरजग्गा कारोबार प्रभावित हुँदै आएको थियो । त्यसपछि सरकारले पटक पटक यसमा म्याद थप गर्दै आएको थियो । पछिल्लो पटक दिएको म्याद पनि गत असार मसान्तमा सकिएको थियो । तर, त्यस बेलासम्म २५३ स्थानीय तहले मात्रै जग्गाको वर्गीकरण गरेका थिए । पाँचसय स्थानीय तहमा जग्गा वर्गीकरण गर्न बाँकी नै थियो । असार पछि जग्गाको कित्ताकाट नै नभएपछि त्यस्ता स्थानीय तहमा घरजग्गा कारोबार गर्न पनि अप्ठ्यारो भएको थियो । त्यसपछि सरकारले जग्गाको वर्गीकरण गर्ने समय आगामी असारसम्म थप गरेर कित्ताकाट खुलाएको थियो । कित्ताकाट खुलाए सँगै मंसिर महिनामै घरजग्गा कारोबार बढेको हो ।

काठमाडौं उपत्यकामा पनि बढ्यो कारोबार
मंसिरमा काठमाडौं उपत्यकामा पनि घरजग्गा कारोबार बढेको छ । अघिल्ला महिनाहरूमा काठमाडौं उपत्यकामा मासिक तीन हजार हाराहारी संख्यामा घरजग्गा कारोबार हुने गरेको थियो । मंसिरमा भने चार हजार ५०७ वटा यस्तो कारोबार भएका छन् । मंसिरमा ललितपुरको लगनखेल मालपोत कार्यालयबाट ९०३ र गोटीखेल मालपोत कार्यालयबाट १४ वटा घरजग्गा कारोबार भएको छ । यस्तै, भक्तपुर मालपोत कार्यालयबाट १०३३ वटा घरजग्गा कारोबार भएको देखिन्छ । यस्तै, काठमाडौंमा डिल्लीबजार मालपोत कार्यालयबाट १९६, चावहिल मालपोत कार्यालयबाट ५८१, कलंकी मालपोत कार्यालयबाट ७७४, मनमैजु मालपोत कार्यालयबाट ३७७, साँखु मालपोत कार्यालयबाट ४५४ र टोखा मालपोत कार्यालयबाट १७५ घरजग्गाका कारोबार भएका छन् ।

यी हुन् धेरै कारोबार भएका तीन क्षेत्र
तथ्यांक अनुसार मंसिरमा सुनसरीको इनरुवा मालपोत कार्यालयबाट सबै भन्दा धेरै कारोबार भएको छ । त्यहाँबाट एक हजार ८१२ वटा घरजग्गाको लिखित पारित भएको देखिन्छ । दोस्रो स्थानमा धनगढी मालपोत कार्यालय देखिन्छ । त्यहाँबाट १६ सय छ वटा घरजग्गा कारोबार भएको छ । तेस्रो स्थानमा भने मोरङको बेलवारी मालतपोत कार्यलय रहेको छ । त्यहाँबाट १५ सय ४५ वटा घरजग्गा कारोबार भएको छ ।

पाँच महिनामा एक लाख ६२ हजार कारोबार
तथ्यांक अनुसार चालु आवको पाँच महिनाको कुल घरजग्गा कारोबार एक लाख ६२ हजार ४८३ वटा रहेको छ । गत आवको पाँच महिनामा एक लाख ८४ हजार ५३ वटा घरजग्गा कारोबार भएको थियो । गत आवभर नेपाल भर पाँच लाख ९० हजार ५४३ वटा घरजग्गा कारोबार भएका थिए ।

राजस्व संकलनमा पनि बृद्धि
कारोबार बढेपछि त्यसबाट सरकारलाई प्राप्त हुने राजस्व पनि बढेको छ । मंसिरमा घरजग्गा कारोबारबाट चार अर्ब ८४ करोड ८१ लाख ५४ हजार रूपियाँ राजस्व उठेको छ । घरजग्गा सम्बन्धी कारोबार गर्दा लाग्ने सम्पूर्ण करको शीर्षकबाट यतिका राजश्व उठेको हो । यो अघिल्ला चार महिनाको तुलनामा बढी हो । चालु आवको साउनमा तीन अर्ब २८ करोड ९१ लाख ३८ हजार रूपियाँ, भदौमा तीन अर्ब १४ करोड सात लाख १६ हजार रूपियाँ, असोजमा दुई अर्ब ७५ करोड ८५ लाख ५७ हजार रूपियाँ र कात्तिकमा दुई अर्ब ७४ करोड ५१ लाख ७२ हजार रूपियाँ राजस्व उठेको थियो । मंसिरमा भने चार अर्ब ८४ करोड ८१ लाख रूपियाँ राजस्व उठेको हो । चालु आवको पहिलो पाँच महिनामा १६ अर्ब ७८ करोड १७ लाख ३९ हजार रूपियाँ राजस्व उठेको छ । गत आवको पहिलो पाँच महिनामा भने १६ अर्ब ५८ करोड ५४ लाख ५७ हजार रूपियाँ राजस्व उठेको थियो । गत आवभर ५३ अर्ब ५८ करोड ८२ लाख ७९ हजार रूपियाँ राजस्व घरजग्गा कारोबारबाट उठेको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार