free website hit counter

अझै ५० प्रतिशत मानिस बीमाको पहुँच बाहिर

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार

काठमाडौं । सबैजसो व्यापार व्यवसाय नाफामुलक र शहर केन्द्रीत नै हुने गरेका छन् । जोखिम बहन गर्ने बीमा कम्पनीहरु पनि शहर वरपर नै घुम्दा सिंगो जनसंख्याको आधा हिस्सा बीमाको पहुँचभन्दा बाहिरै रहेका छन् । बीमा व्यवसाय सुरु भएको करिब ८ दशक पूरा हुँदा पनि बीमा ५० प्रतिशत जनसंख्यामा पनि बीमाको पहुँच विस्तार गर्न सकेको छैन। अहिलेसम्म बीमाको पहुँच ४८ प्रतिशत जनसंख्यामा मात्रै पुगेको छ। नेपालको बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार नै आर्थिक वर्ष २०८१–८२ को असारसम्ममा कुल जनसंख्याको ४८.३३ प्रतिशत नागरिकमा बीमा सेवाको पहुँच पुगेको छ। नेपाल बीमा प्राधिकरणको चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ४९.९९ प्रतिशत जनसंख्यामा जीवन बीमाको पहुँच विस्तार भएको छ। जबकी गत वर्ष २०८१ को पुस मसान्तसम्ममा ४३.६२ प्रतिशत जनसंख्यामा बीमाको पहुँच विस्तार भएको थियो। यता, कुल गार्हस्थ्य उत्पादन जीडीपीमा बीमा क्षेत्रको योगदान ३.७२ प्रतिशत छ। जबकी जीडीपीमा आठ दशकको लामो अवधिमा बीमा क्षेत्रले दिने योगदान बढी हुनुपर्ने थियो। बीमा क्षेत्रले परिवारको सुरक्षा, व्यवसायमा निरन्तरता र बचत परिचालनको माध्यमबाट आर्थिक विकासमा सहयोग गर्दै आइरहेको छ। वि।सं २००४ मा नेपाल माल चलानी तथा बीमा कम्पनी लिमिटेडको स्थापनाबाट बीमा व्यवसायको औपचारिक सुरुवात भएको थियो । वि।सं। २०४० को दशकमा राज्यले अवलम्बन गरेको आर्थिक उदारीकरणको नीति अनुरूप बीमा बजारमा निजी क्षेत्रले प्रवेश गरेको थियो । त्यसपछि बीमा व्यवसायलाई व्यवस्थित गर्ने उद्देश्यले बीमा ऐन, २०४९ जारी गरेको थियो। संघीय प्रणाली लागु भएपछि अहिले बीमा ऐन, २०७९ जारी गरिएको छ। प्राधिकरणले बीमा सेवालाई प्रभावकारी र प्रतिस्पर्धी बनाउन तथा बीमितको हकहित सुनिश्चित गर्न नीतिगत, कानूनी र संस्थागत सुधार गर्दै आएको छ। बीमितको हकहित संरक्षण, जोखिम न्यूनीकरण र संस्थागत सुशासनमार्फत देशको दिगो आर्थिक विकासमा योगदान पु¥याउन बीमा क्षेत्रमा जनसहभागिता अभिवृद्धि गर्न आवश्यक रहेको सरकारको निष्कर्ष छ। बीमा कम्पनीहरुको शाखा बिस्तार सामान्य बढेको छ। नेपालका बीमा कम्पनीले सेवा विस्तारको उद्धेश्यले शाखा विस्तारमा विशेष जोड दिँदा बीमा क्षेत्रमा काम गर्नेहरु पनि बढेका छन्। बीमाले जोखिमबाट हुने आर्थिक क्षतिपूर्ति प्रदान गर्छ भन्नेमा सर्वसाधारणको विश्वास अभिवृद्धि हुन नसकिरहेको समयमा बीमा शुल्क सङ्कलन र दावी भुक्तानी प्रक्रिया अझै पनि झन्झटिलो र अपारदर्शी छ। यस समयमा बीमा कम्पनीहरुले शाखा विस्तार गरेर सहजसँग आफ्ना सेवाग्राहीलाई सेवा प्रदान गर्नतर्फ अघि बढेका हुन्। गत मंसिरसम्ममा बीमा कम्पनीको शाखा ३ हजार १० वटा पुगेको छ। २०८१ मंसिर मसान्तसम्ममा बीमा कम्पनीको शाखा संख्या २ हजार ९९१ रहेको थियो। यस्तै, बीमा क्षेत्रमा का मगर्ने कर्मचारी पनि बढ्दै गइरहेका छन्। पुस मसान्तसम्ममा बीमा कम्पनीमा जम्मा कर्मचारी १२ हजार ३७७ जना रहेका छन्। जसमध्ये जीवन बीमा कम्पनीहरुमा ६ हजार १०८ र निर्जीवन बीमा कम्पनीहरुमा ६ हजार २६९ रहेका छन्।

सम्बन्धित समाचार