एजेन्सी । विश्वको करिब २० प्रतिशत एलएनजी सरलीकृत प्राकृतिक ग्यास आपूर्ति गर्ने कतारले उत्पादन रोकेपछि ग्यासको अभाव हुने र विश्वभर यसको मूल्य आकासिने जोखिम बढेको छ। मित्वको कतार इनर्जीले सरलीकृत प्राकृतिक ग्यास एलएनजी को उत्पादन अनिश्चितकालका लागि स्थगित गरेको छ। यसले विश्वव्यापी ग्यास बजारमा ठुलो तनाव सिर्जना गरेको छ। कतारको रक्षा मन्त्रालयका अनुसार, सोमबार इरानी ड्रोनले दुई वटा मुख्य स्थानमा निसाना बनाएको थियो, मेसाइद औद्योगिक सहरको पावर प्लान्टस्थित पानीको ट्याङ्की र विश्वकै सबैभन्दा ठुलो एलएनजी उत्पादक कतार इनर्जीको रास लाफानस्थित ऊर्जा केन्द्र। मानवीय क्षतिको कुनै विवरण नआए पनि कतार इनर्जीले सुरक्षाको कारण देखाउँदै प्रभावित क्षेत्रमा एलएनजीलगायत अन्य उत्पादन पूर्ण रूपमा रोकेको छ। ड्रोन आक्रमणको मुख्य तारो रास लाफान कम्प्लेक्स बनेको थियो, जहाँ निर्यातका लागि तयार पारिने एलएनजीको प्रशोधन गरिन्छ। रोयटर्स र ब्लूमबर्गका अनुसार, यस्तो असाधारण परिस्थिति ड्रोन आक्रमणका कारण कम्पनीले ग्यास आपूर्तिको सम्झौता पूरा गर्न नसक्ने भन्दै फोर्स मेजर काबुबाहिरको परिस्थिति घोषणा गर्न बाध्य भएको छ। यो घटना यस्तो समयमा भएको छ, जति बेला इरान र अमेरिकाबिचको बढ्दो तनाव र क्षेप्यास्त्र प्रहारका कारण रणनीतिक व्यापारिक मार्ग ुहोर्मुज जलडमरुुको आवागमन लगभग ठप्प छ। रोयटर्सका अनुसार एलएनजी बोक्ने जहाजहरूसहित कम्तीमा १५० वटा पानीजहाज उक्त जलडमरु र आसपासका क्षेत्रमा रोकिएका छन्। अनादोलु समाचार एजेन्सीका अनुसार सो मार्ग हुँदै हुने एलएनजी र तेलको ढुवानी ८६ प्रतिशतले घटेको छ र करिब ७०० जहाजहरू बाटोको दुवैतर्फ अलपत्र परेका छन्। कतारले विश्व बजारको करिब २० प्रतिशत एलएनजी एक्लै आपूर्ति गर्छ। कतारबाट उत्पादन बन्द हुँदा बजारमा ग्यासको चरम अभाव हुनेछ, जसका कारण मूल्यमा तीव्र वृद्धि हुने निश्चित छ। सेन्टर फर अ न्यु अमेरिकन सेक्युरिटीकी वरिष्ठ फेलो राहेल जिम्बा भन्छिन्, खाडी क्षेत्रको ऊर्जा पूर्वाधारमा परेको यो दबाबले रातारात विश्वव्यापी तनाव बढाउने निश्चित छ। यसको सबैभन्दा ठुलो र प्रत्यक्ष असर एसियाली बजारहरू, विशेष गरी बङ्गलादेश, भारत र पाकिस्तानमा पर्नेछ। विश्वकै सबैभन्दा ठुलो प्राकृतिक ग्यास आयातकर्ता चीन भए पनि उसले आफ्नो कुल आयातको ३४ प्रतिशत अस्ट्रेलियाबाट ल्याउने हुनाले चीनलाई तत्काल गम्भीर असर पर्नेछैन। स्ट्यानफोर्ड विश्वविद्यालयका ऊर्जा विज्ञ म्याक्सिम सोनिनका अनुसार कतारको यो निर्णयले ऊर्जा बजारमा अस्थिरता ल्याउने निश्चित छ, तर यसलाई अहिल्यै सङ्कट भनिहाल्न मिल्दैन। उनले अल जजीरासँग भने, कतार र अन्य हबका पूर्वाधारमा क्षति पुगेमा निकट भविष्यमै हामी एलएनजी बजारमा ठुलो अस्थिरता देख्नेछौँ। तर, सन् २०२२ मा युरोपले भोगेको जस्तो ग्यास सङ्कट नै दोहोरिने सम्भावना भने कम छ।
सन् २०२२ सम्म रुस विश्वकै सबैभन्दा ठुलो एलएनजी निर्यातकर्ता थियो। तर, युक्रेन युद्धपछि रुसको निर्यातमा भारी गिरावट आएको छ। हाल अमेरिका विश्वको सबैभन्दा ठुलो एलएनजी निर्यातकर्ता हो भने त्यसपछि क्रमशः कतार र अस्ट्रेलिया आउँछन्। कतार इनर्जीले आफ्नो उत्पादनको ८२ प्रतिशत हिस्सा एसियाली देशहरूलाई बेच्ने भए पनि यो अवरोधले युरोपलगायत विश्वभरका अन्य बजारमा समेत दबाब बढाएको छ। बजारमा ग्यासको आपूर्ति कम हुँदा मूल्य वृद्धि सुरु भइसकेको छ। कतार इनर्जीको घोषणा लगत्तै सोमबार युरोपको बेन्चमार्क मानिने डच र बेलायती थोक ग्यासको मूल्य करिब ५० प्रतिशतले बढेको छ भने एसियाली एलएनजीको मूल्य करिब ३९ प्रतिशतले आकासिएको छ। कतार लामो समयसम्म बन्द रहनु राम्रो सङ्केत होइन, जिम्बाले भनिन्। यद्यपि, युरोपका लागि एउटै राहतको कुरा के छ भने त्यहाँ धेरै ग्यास खपत हुने कठोर जाडो याम सकिने क्रममा छ। यसैबिच, मध्यपूर्वमा बढ्दो द्वन्द्वले पार्न सक्ने प्रभावको मूल्याङ्कन गर्न युरोपेली संघ (ईयू) को ग्यास समन्वय समूहको बैठक बुधवार बस्ने भएको छ। युरोपेली आयोगका प्रवक्ताले रोयटर्सलाई दिएको जानकारी अनुसार सदस्य राष्ट्रका प्रतिनिधिहरू सम्मिलित यो समूहले ईयूमा ग्यासको भण्डारण, आपूर्तिको सुरक्षा र सङ्कटको समयमा चालिनुपर्ने कदमहरूबारे छलफल गर्नेछ।