काठमाडौं । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरपालिकालाई प्रदान गरिएको छ । पुनः निर्माणपछि उक्त ठाउँमा ३४७ वटा कार र ७०० वटा मोटरसाइकल अट्ने क्षमता छ । केही दिनअघि गृह मन्त्रालय, सहरी विकास मन्त्रालयका प्रतिनिधि र महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलसहितको छलफलपछि धरहराको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी महानगरलाई प्रदान गर्ने निर्णय गरेको हो । छलफलले धरहरा क्षेत्रको सञ्चालन व्यवस्थापनको तत्कालीन र दीर्घकालीन परियोजना प्रारूप तयार गर्न सहरी विकास मन्त्रालय र महानगरका अधिकारीसहितको समिति गठन गर्ने निर्णय गरेको छ । कार्यवाहक प्रमुख डङ्गोलले धरहरा क्षेत्रको सञ्चालन व्यवस्थापनको दायित्व महानगरपालिकाले ग्रहण गर्ने इच्छाअनुसार जिम्मेवारी प्राप्त गरिएको बताइन् । विसं २०५५ मा साबिक स्थानीय निकाय हुँदा हस्तान्तरण भइसकेको संरचना स्थानीय सरकारलाई प्रदान गर्नुपर्छ भन्ने हाम्रो अनुरोध थियो । त्यसमध्ये पनि तत्काल गर्नुपर्ने काममध्ये सुरक्षित र व्यवस्थित सेवा हो, उनले भनिन्, सडकमा पार्किङको विकल्पमा सुन्धारा एउटा विकल्प हो । यस ठाउँलाई सुरक्षित र व्यवस्थित बनाउँदै महानगर प्रहरी बल परिचालन गरेर निःशुल्क सेवा उपलब्ध गराउने छौँ । विसं २०७२ को भूकम्पले ढलेको धरहरा पुनः निर्माणका लागि वि।सं २०७५ पुस १२ मा पुनः निर्माणका लागि भूमि पूजन र शिलान्यास भएको थियो । ३ अर्ब ४८ करोड १६ लाख ९१ हजार २४० रुपैयाँ लागतमा यसको पुनः निर्माण गरिएको हो । धरहरा ७९.२ मिटर अग्लो छ । बाहिरबाट ११ तला देखिने धरहराको भित्र २२ तला रहेका छन् ।