free website hit counter

फुटपाथमा पुस्तक बिक्री नगर्न महावीर पुनलाई पोखराका मेयर आचार्यको आग्रह

beemaadmin
२०८२ फाल्गुन २७, बुधबार

काठमाडौँ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनलाई फुटपाथमा पुस्तक बिक्री नगर्न आग्रह गरेका छन् । उनले पुस्तक बिक्रीलाई व्यवस्थित बनाउन पुस्तक व्यवसायी महासंघमार्फत सहकार्य गर्न प्रस्ताव समेत गरेका छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै मेयर आचार्यले पुनलाई निर्वाचनमा अत्यधिक मतसहित विजयी भएकोमा बधाई दिँदै उनको नवप्रवर्तन र अनुसन्धान अभियानप्रति सम्मान व्यक्त गरेका छन् । आचार्यले पुनले अनुसन्धान र नवप्रवर्तनका लागि देशभर घुमेर पुस्तक बिक्री गर्दै जनसमर्थन जुटाइरहेको कार्य सराहनीय भएको उल्लेख गरेका छन् । तर आवश्यक दर्ता वा अनुमति बिना सार्वजनिक स्थानमा पुस्तक बिक्री–वितरण गर्दा कानुनी जटिलता उत्पन्न हुन सक्ने उनले बताएका छन् । मेयर आचार्यका अनुसार पछिल्ला दिनमा सडकमा उभिएर पुस्तक बिक्री गर्दा यातायातमा असहजता हुने तथा अनावश्यक विवादसमेत सिर्जना भएको देखिएको छ । यस्तो अवस्था पुनजस्तो सम्मानित सार्वजनिक व्यक्तित्वका लागि उपयुक्त नहुने उनले बताएका छन् । उनले देशभर करिब १८ हजार पुस्तक व्यवसायी दर्ता भई पुस्तक बिक्री–वितरणमा संलग्न रहेको उल्लेख गर्दै महासंघमार्फत पुनलाई उपयुक्त स्थान उपलब्ध गराई पुस्तक बिक्रीमा सहयोग गर्न सकिने बताएका छन् । यदि तपाईं पोखरा आउने समय दिनुहुन्छ भने, पुस्तक व्यवसायी महासंघमार्फत उपयुक्त स्थान उपलब्ध गराई पुस्तक बिक्री–वितरणमा सहजीकरण गर्न सकिन्छ, आचार्यले फेसबुकमार्फत आग्रह गरेका छन् । आचार्यले हालसम्म कति पुस्तक बिक्री भएको भन्ने विवरण सार्वजनिक गर्न सके पारदर्शिता बढ्नुका साथै करसम्बन्धी सम्भावित प्रश्नहरू समाधान गर्न पनि सहज हुने उनले बताएका छन् ।

सम्बन्धित समाचार