free website hit counter

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले वृद्धि

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

काठमाडौं । चालू आर्थिक वर्ष २०८२–८३ को माघ मसान्तसम्म जीवन बीमा कम्पनीहरूमा सक्रिय बीमालेखको संख्या १ करोड ६२ लाख ५३ हजार पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो बीमालेखको संख्या १ करोड ४१ लाख ५३ हजार थियो। यस आधारमा चालू आवको पहिलो सात महिनामा सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले बढेको देखिएको छ। बीमा कम्पनीहरूका अनुसार पछिल्लो समय बीमालेख समयमै नवीकरण गर्ने प्रवृत्तिमा सुधार आउन थालेकाले सक्रिय बीमालेखको संख्या बढेको हो। साथै, बीमासम्बन्धी जानकारी र सचेतना क्रमशः बढ्दै जाँदा बीमितहरूले समयमै नवीकरण गर्न थालेका छन्। माघ मसान्तसम्म सक्रिय जीवन बीमालेखमध्ये सबैभन्दा ठूलो हिस्सा लघु जीवन बीमाको रहेको छ। कुल सक्रिय बीमालेखमध्ये लघु जीवन बीमाको हिस्सा ३५.१६ प्रतिशत रहेको छ। गत आर्थिक वर्षको माघसम्म ४० लाख ३१ हजार रहेको लघु जीवन बीमालेखको संख्या चालू आवको सोही अवधिमा बढेर ५७ लाख पुगेको छ, जुन ४१.४२ प्रतिशतको वृद्धि हो। लघु जीवन बीमापछि दोस्रो ठूलो हिस्सा म्यादी जीवन बीमाको रहेको छ। कुल सक्रिय बीमालेखमध्ये म्यादी जीवन बीमाको हिस्सा २१।१४ प्रतिशत छ। चालू आर्थिक वर्षको सात महिनामा म्यादी जीवन बीमालेखको संख्या ३४ लाख २७ हजार ७६२ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यो संख्या २४ लाख ४ हजार थियो। त्यसैगरी, वैदेशिक रोजगार म्यादी जीवन बीमालेखको संख्या पनि बढेको छ। बीमा प्राधिकरणका अनुसार गत आवमा २३ लाख ४६ हजार रहेको यस्तो बीमालेख चालू आवमा बढेर २४ लाख ४ हजार पुगेको छ, जुन २।४३ प्रतिशतको वृद्धि हो। कुल सक्रिय बीमालेखमध्ये यसको हिस्सा १४.४७ प्रतिशत रहेको छ। यस अवधिमा सावधिक जीवन बीमालेख २१ लाख ८९ हजार, बालबच्चासम्बन्धी सावधिक जीवन बीमालेख १० लाख ८९ हजार, रूपान्तारिक सावधिक जीवन बीमालेख ६ लाख, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख ४ लाख ५७ हजार, आजीवन जीवन बीमालेख १ लाख ७० हजार, अन्य जीवन बीमालेख १ लाख २३ हजार तथा एकल बीमा शुल्क बीमालेख १ लाख ११ हजार रहेका छन्। गत आर्थिक वर्षको तुलनामा सावधिक जीवन बीमालेख ६।६७ प्रतिशत, बालबच्चासम्बन्धी सावधिक जीवन बीमालेख ७।२५ प्रतिशत, रूपान्तारिक सावधिक जीवन बीमालेख १२।१४ प्रतिशत र अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख २.९५ प्रतिशतले वृद्धि भएको छ। यद्यपि, आजीवन जीवन बीमालेख ३.८८ प्रतिशत र अन्य जीवन बीमालेख ०.२२ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ।

सम्बन्धित समाचार

पाल्पा सिमेन्टको आईपीओ भयो बाँडफाँट

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

नेपाल पुनर्बीमाबाट युनाइटेड अजोड बाहिरिँदै

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार