काठमाडौं । सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका क्रममा किरणभवन, सानेपास्थित विचौलिया दीपक भट्टको घर र कार्यालयमा विभागले छापा मारेको छ। नयाँ वर्षकै दिन मंगलबार बिहानैदेखि नेपाल प्रहरी र स्थानीय निकायको सहयोगमा टोली त्यहाँ पुगेको थियो।
भट्टसँग सम्बन्धित अन्य स्थानहरूमा पनि छानबिन विस्तार गरिएको छ। उनका व्यावसायिक साझेदार सुलभ अग्रवालको निवास र वित्तीय व्यवस्थापकको रूपमा काम गरिरहेका उपेन्द्र हिरावतको घरमा समेत छापा मारिएको छ। अग्रवालको कार्यालयमा भने विभागले गत साता नै छानबिन गरिसकेको थियो। साथै, भट्ट र अग्रवालको संलग्नता रहेको हिमालयन रि इन्सुरेन्समा पनि विभाग पुगेको छ।
छापाका क्रममा भट्टको घर र कार्यालयबाट मोबाइल फोन, ल्यापटप, महत्त्वपूर्ण कागजात, सीसीटीभी र सर्भर नियन्त्रणमा लिइएको छ। करिब १३ घण्टासम्म चलेको छानबिनपछि पनि काम नसकिएपछि घर र कार्यालय सिल गरिएको छ। त्यहाँ रहेका विभिन्न महँगा गाडीहरू समेत नियन्त्रणमा लिइएको बताइएको छ।
विभागले भट्ट र अग्रवाललाई पछिल्लो दुई सातादेखि हिरासतमा राखी सम्पत्ति शुद्धीकरण, बीमा तथा बैंकिङ कसुरसम्बन्धी अनुसन्धान गरिरहेको छ। भट्टलाई २० दिनसम्म हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिइसकेको छ भने अग्रवालका लागि पनि थप समय अनुमति प्राप्त भएको छ।
भट्टको घरमा राजनीतिक तथा प्रशासनिक पहुँचसँग सम्बन्धित कागजात र वित्तीय विवरण भेटिन सक्ने अनुमानका आधारमा छापा मारिएको जनाइएको छ। अनुसन्धानमा संलग्न स्रोतका अनुसार धेरै कागजात र डिजिटल सामग्री बरामद भए पनि तिनको विस्तृत विवरण भने अझै खुल्न बाँकी छ।
नेपालभित्रका वित्तीय स्रोतहरू अग्रवालका नाममा र विदेश (सिंगापुर, हङकङ, दुबई आदि) का स्रोतहरू भट्टका नाममा रहेको भन्ने सूचनापछि अनुसन्धान अघि बढाइएको हो। हाल प्राप्त कागजातहरूको अध्ययनपछि थप तथ्यहरू सार्वजनिक हुने अपेक्षा गरिएको छ।