free website hit counter

सन नेपाल लाइफद्वारा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

beemaadmin
२०८३ बैशाख ७, सोमबार

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूको क्षमता अभिवृद्धि तथा प्रोत्साहन गर्ने उद्देश्यले ‘प्रयत्न निरन्तर सम्मान र सबलीकरणको अवसर’ शीर्षकमा एकदिने विशेष कार्यक्रम आयोजना गरेको छ।

बागमती प्रदेश अन्तर्गत काठमाडौँ उपत्यकाका विभिन्न शाखाबाट सहभागी भएका अभिकर्ताहरूलाई एकै स्थानमा भेला गराई कम्पनीले सीप विकास, उत्प्रेरणा तथा नेटवर्किङका अवसर प्रदान गरेको जनाएको छ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा अन्तर्राष्ट्रिय मोटिभेसनल स्पिकर विजय कुमार झाको प्रशिक्षण सत्र रहेको थियो। उनले बिक्री सीप विकास, लक्ष्य निर्धारण, आत्मविश्वास अभिवृद्धि तथा बदलिँदो बीमा बजारमा सफल हुने रणनीतिबारे प्रशिक्षण दिएका थिए।

कार्यक्रममा निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, प्रमुख बजार अधिकृत गणेश चौलागाई, बागमती प्रदेश प्रमुख लोकमाया अधिकारी लगायत क्षेत्रीय तथा शाखा व्यवस्थापन टोली, इन्स्योरेन्स एडभाइजर, एजेन्सी डेभलपमेन्ट म्यानेजर तथा एमडीआरटी अचिभरहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयालले अभिकर्ताहरू कम्पनीका मेरुदण्ड भएको उल्लेख गर्दै उनीहरूको सशक्तिकरण नै दीर्घकालीन सफलताको आधार भएको बताए। त्यसैगरी, प्रमुख बजार अधिकृत गणेश चौलागाईले अभिकर्ताहरूलाई निरन्तर सिकाइ, अनुशासन र ग्राहकप्रति जिम्मेवार दृष्टिकोण अपनाउँदै अघि बढ्न आग्रह गरे। उनले यस्ता कार्यक्रमहरूले बजार प्रतिस्पर्धामा अग्रता दिलाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान गरिएको थियो भने सहभागीहरूबीच अनुभव आदानप्रदानको अवसर पनि सिर्जना गरिएको थियो। कम्पनीले यस्ता कार्यक्रममार्फत बीमा सेवाको पहुँच विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।

हाल सन नेपाल लाइफ इन्स्योरेन्सका देशभर १४८ शाखा तथा उपशाखा सञ्चालनमा रहेका छन्।

सम्बन्धित समाचार