काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणाले नेपालकाे दाेस्राे पुनरवबीमा कम्पनी हिमालयन रिइन्स्याेरेन्सलाई नयाँ पुनर्बीमा व्यवसाय सञ्चालन गर्न रोक लगाएको छ।
बीमा ऐन, २०७९ को दफा १३६ को उपदफा (१) अनुसार प्राधिकरणले गरेको निर्णयअनुसार कम्पनीलाई आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म नयाँ पुनर्बीमा व्यवसाय गर्न प्रतिबन्ध लगाइएको हो।
यद्यपि, यसअघि भएका पुनर्बीमा व्यवसायसम्बन्धी दाबी भुक्तानी तथा रेट्रोसेसनसम्बन्धी कार्य भने कम्पनीले निरन्तर गर्न पाउने व्यवस्था गरिएको छ।
प्राधिकरणले वैशाख २९ गते बसेको बैठकको निर्णयअनुसार उक्त व्यवस्था लागू गरिएको जनाएको छ। साथै, बीमा ऐनको दफा १३६ को उपदफा (४) बमोजिम सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित सबै सरोकारवालालाई जानकारी गराइएको पनि प्राधिकरणले उल्लेख गरेको छ।