काठमाडौं । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन तथा असोज महिनाको बाढी–पहिरोका कारण बीमा दाबी भुक्तानी अत्यधिक बढेपछि त्यसको प्रत्यक्ष असर निर्जीवन बीमा कम्पनीहरूको नाफामा परेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म अधिकांश कम्पनीहरूको नाफा उल्लेखनीय रूपमा घटेको देखिएको छ।
निर्जीवन बीमा कम्पनीहरूले सार्वजनिक गरेका वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका १४ वटा कम्पनीहरूको कुल नाफा ४७.२३ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको यही अवधिमा २ अर्ब ४१ करोड ३ लाख रुपैयाँ नाफा भएकोमा चालु वर्षको सोही अवधिमा नाफा घटेर १ अर्ब २७ करोड १९ लाख रुपैयाँमा सीमित भएको छ।
तेस्रो त्रैमाससम्ममा दुई कम्पनी घाटामा गएका छन्। युनाइटेड अजोड इन्स्योरेन्स र नेशनल इन्स्योरेन्सले घाटा व्यहोरेका हुन्।
यस अवधिमा सबैभन्दा बढी नाफा घट्ने कम्पनी आईजिआई प्रुडेन्सियल रहेको छ। कम्पनीको नाफा ९९.८३ प्रतिशतले घटेर केवल ४ लाख ३८ हजार रुपैयाँमा सीमित भएको छ। गत वर्षको यही अवधिमा कम्पनीले २६ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको थियो।
कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) शरण रेग्मीका अनुसार जेनजी आन्दोलनका कारण बीमा दाबी उल्लेख्य रूपमा बढेकाले कम्पनीको नाफामा प्रत्यक्ष असर परेको हो। उनका अनुसार नाफा घट्नुका अन्य विशेष कारण भने छैनन्।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पनि चालु आर्थिक वर्षमा नाफा घट्नुको मुख्य कारण जेनजी आन्दोलन नै भएको जनाएको छ।
चैत मसान्तसम्ममा सबैभन्दा बढी नाफा कमाउने कम्पनी ओरियन्टल इन्स्योरेन्स बनेको छ। कम्पनीले ३० करोड ६६ लाख रुपैयाँ नाफा कमाएको छ। गत वर्ष यही अवधिमा कम्पनी १३ करोड ८३ लाख रुपैयाँ घाटामा रहेको थियो।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले चालु आवको चैतसम्ममा ४ करोड १ लाख ३४ हजार रुपैयाँ नाफा कमाएको छ। जबकि गत वर्ष यही अवधिमा कम्पनीले ४५ करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यससँगै कम्पनीको नाफा ९१.१५ प्रतिशतले घटेको छ।
त्यसैगरी, एनएलजी इन्स्योरेन्सको नाफा पनि उल्लेखनीय रूपमा घटेको छ। कम्पनीको नाफा ७१.७८ प्रतिशतले घटेर १२ करोड ३३ लाख रुपैयाँबाट ३ करोड ४८ लाख रुपैयाँमा झरेको छ।
शिखर इन्स्योरेन्सको नाफा पनि ८०.२३ प्रतिशतले घटेको छ। गत वर्ष चैतसम्म ३५ करोड ७० लाख ५४ हजार रुपैयाँ नाफा कमाएको कम्पनीले चालु वर्षको सोही अवधिमा ७ करोड ५ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको छ।
शिखरपछि सानिमा जिआईसीको नाफा पनि उल्लेखनीय रूपमा घटेको छ। कम्पनीले चालु आवको चैतसम्म ५ करोड १३ लाख रुपैयाँ नाफा कमाएको छ, जबकि गत वर्ष यही अवधिमा २३ करोड ३५ लाख रुपैयाँ नाफा भएको थियो। यसरी कम्पनीको नाफा ७८.०१ प्रतिशतले घटेको छ।
चैत मसान्तसम्ममा हिमालयन एभरेष्ट इन्स्योरेन्सले ११ करोड ५ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ७ करोड ५ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १० करोड ६० लाख रुपैयाँ, नेको इन्स्योरेन्सले १६ करोड ३९ लाख रुपैयाँ तथा राष्ट्रिय बीमा कम्पनीले २८ करोड ८९ लाख रुपैयाँ नाफा कमाएका छन्।
गत वर्षको तुलनामा हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा ६६.७३ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ४७.१३ प्रतिशत, नेपाल इन्स्योरेन्सको ४०.५९ प्रतिशत, नेको इन्स्योरेन्सको ५५.६१ प्रतिशत तथा राष्ट्रिय बीमा कम्पनीको २६.९७ प्रतिशतले घटेको छ।
यता, प्रभु इन्स्योरेन्स भने नाफा बढाउने थोरै कम्पनीमध्ये एक बनेको छ। कम्पनीको नाफा ५.६३ प्रतिशतले बढेर २० करोड २ लाख रुपैयाँबाट २१ करोड १५ लाख रुपैयाँ पुगेको छ।
त्यस्तै, युनाइटेड अजोड इन्स्योरेन्स चैतसम्ममा ६ करोड ९७ लाख रुपैयाँ घाटामा पुगेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ११ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको थियो।
नेशनल इन्स्योरेन्सले पनि १७ करोड ६४ लाख रुपैयाँ घाटा व्यहोरेको छ। कम्पनी गत वर्षको यही अवधिमा पनि ७२ करोड ८१ लाख रुपैयाँ घाटामा रहेको थियो।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण बीमा कम्पनीहरूमा २३ अर्बभन्दा बढी रुपैयाँ बराबरको दाबी परेको छ। नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार विभिन्न बीमा कम्पनीहरूमा कुल ३ हजार ३५५ वटा दाबी दर्ता भई २३ अर्ब ३८ करोड ११ लाख रुपैयाँ बराबरको दाबी परेको हो।
उक्त आन्दोलनका क्रममा सबैभन्दा धेरै दाबी सिद्धार्थ इन्स्योरेन्स, ओरियन्टल इन्स्योरेन्स, आईजिआई प्रुडेन्सियल, शिखर इन्स्योरेन्स, सलिको, नेको इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्स लगायतका कम्पनीहरूमा परेको थियो।
त्यसैगरी, गत असोज १८ गतेदेखि देशभर परेको अविरल वर्षाका कारण पनि बीमा कम्पनीहरूमा थप ४ अर्ब १९ करोड रुपैयाँ बराबरको दाबी परेको छ।