काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बीमाको पहुँच विस्तार गर्न डिजिटल प्रणालीको विकास र ग्रामीण लक्षित कार्यक्रमलाई प्राथमिकता दिन नेपाल बीमा प्राधिकरणलाई निर्देशन दिएका छन्।
नेपाल बीमा प्राधिकरणको ५८औँ वार्षिकोत्सव विशेषांकका अवसरमा शुभकामना सन्देश दिँदै मन्त्री वाग्लेले ग्रामीण क्षेत्र तथा न्यून आय भएका नागरिकसम्म बीमा सेवा पुर्याउनु प्राधिकरणको प्रमुख चुनौती र जिम्मेवारी भएको बताएका छन्। त्यसका लागि प्राधिकरणले अझ सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकता उनले औँल्याएका छन्।
उनले बीमा गर्ने प्रक्रियादेखि दाबी भुक्तानीसम्मका सम्पूर्ण सेवा डिजिटल माध्यमबाट सहज र सरल बनाउनुपर्नेमा जोड दिएका छन्। सेवा प्रवाहलाई सरलीकृत गर्दै आम नागरिकका लागि बीमा सेवा सुलभ र पहुँचयोग्य बनाउन आवश्यक रहेको उनको भनाइ छ।
हाल देशको करिब आधा जनसङ्ख्या मात्रै बीमाको दायरामा रहेको उल्लेख गर्दै मन्त्री वाग्लेले बीमाको पहुँच अझ व्यापक बनाउन सुझाव दिएका छन्। बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्नु आवश्यक रहेको बताउँदै उनले बीमा व्यवसायलाई थप प्रतिस्पर्धी, पारदर्शी र विश्वसनीय बनाउनुपर्ने धारणा राखेका छन्।
बीमितको हित संरक्षण गर्नु नै प्राधिकरणको मुख्य दायित्व हुनुपर्नेमा उनले जोड दिएका छन्। साथै, बीमा क्षेत्रको विकासका लागि आवश्यक नीतिगत तथा कानुनी सुधार सम्बन्धी सुझाव सरकारलाई उपलब्ध गराउने भूमिकामा प्राधिकरण सक्रिय रहने अपेक्षा पनि उनले व्यक्त गरेका छन्।