काठमाडौं । समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता प्रक्रिया आजदेखि सुरु भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पहिलो दिन तीन सहकारी संस्थाका ३ सय ७८ जना बचतकर्तालाई रकम फिर्ता गरेको जनाएको छ ।
समितिका अनुसार कान्तिपुर सहकारीका २ सय १५ जना, शिव शिखर बहुउद्देश्यीय सहकारीका १ सय ५६ जना तथा पशुपति सहकारीका ७ जना साना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएका हुन् ।
समितिले प्रारम्भमा न्यून बचत भएका बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गरिएको जनाएको छ । आगामी दिनमा बचत रकमको आधारमा वर्गीकरण गर्दै क्रमशः अन्य बचतकर्तालाई पनि रकम फिर्ता गरिने बताइएको छ ।

हाल समस्याग्रस्त सहकारीहरूमा करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी रहेको समितिको तथ्यांक छ । पाँच लाख रुपैयाँभन्दा कम बचत गर्नेहरूलाई साना बचतकर्ता र सोभन्दा बढी बचत गर्नेहरूलाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ । कुल बचतकर्तामध्ये १८ हजार जनाको बचत पाँच लाख रुपैयाँभन्दा माथि रहेको समितिले जनाएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले बचत फिर्ता प्रक्रियासँगै सहकारीहरूको ऋण असुली अभियान पनि तीव्र बनाइएको बताएकी छन् । उनका अनुसार ऋणीहरूको नाम सार्वजनिक गरिएपछि ऋण फिर्ता गर्ने क्रम बढ्न थालेको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार हालसम्म ऋणीहरूबाट २ करोड रुपैयाँभन्दा बढी रकम असुल भइसकेको छ । समितिले ऋण असुली र बचत फिर्ता प्रक्रिया सँगसँगै अघि बढाइने जनाएको छ ।