काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले चार जनाको नाम सर्टलिस्टमा सार्वजनिक गरेको छ । समितिले बोर्डभित्रकै वर्तमान तथा पूर्व नेतृत्वसँगै नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकहरूलाई अन्तिम प्रतिस्पर्धामा राखेको हो ।
सर्टलिस्टमा बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्य, पूर्व कार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट र मुकुन्द कुमार क्षेत्री परेका छन् । पुँजी बजारसम्बन्धी अनुभव, नियामकीय समझ र वित्तीय क्षेत्रको संलग्नतालाई आधार मानेर उनीहरूलाई छनोट गरिएको समितिको भनाइ छ ।
एमबिए अध्ययन गरेका आचार्य हाल बोर्डमा कार्यकारी निर्देशकका रूपमा कार्यरत छन् । त्यस्तै, करिब तीन दशक धितोपत्र बोर्डमा कार्यरत रहेका डा. नवराज अधिकारी हालै उमेरहदका कारण अवकाशमा गएका थिए । २०५६ सालदेखि बोर्डमा कार्यरत अधिकारीले सचिव, प्रवक्ता र कार्यकारी निर्देशकलगायतका जिम्मेवारी सम्हालिसकेका छन् । उनी २०७९ जेठ २६ गते कार्यकारी निर्देशक नियुक्त भएका थिए ।
सर्टलिस्टमा परेका अर्का प्रत्याशी डा. गोपाल भट्ट नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । उनले राष्ट्र बैंकका विभिन्न विभागमा झन्डै ३० वर्ष काम गरेका छन् । बैंक तथा वित्तीय संस्थाको सुपरिवेक्षण, आर्थिक अनुसन्धान, सार्वजनिक ऋण व्यवस्थापन र मानव संसाधन व्यवस्थापनलगायत क्षेत्रमा उनले अनुभव हासिल गरेका छन् ।
डा. भट्टले मर्चेन्ट बैंकिङ क्षेत्रमा समेत काम गरेका छन् भने नेपाल एसबीआई बैंकको सञ्चालकको जिम्मेवारी पनि सम्हालिसकेका छन् । साथै, विभिन्न विश्वविद्यालय तथा कलेजमा वित्तीय व्यवस्थापन, लगानी, सुरक्षा विश्लेषण, पोर्टफोलियो व्यवस्थापन, वित्तीय डेरिभेटिभ्स, मर्जर तथा कर्पोरेट पुनर्संरचनालगायत विषय अध्यापन गराउँदै आएका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट धितोपत्र बजार प्रभावकारितासम्बन्धी विषयमा विद्यावारिधि उपाधि प्राप्त गरेका छन् ।
त्यसैगरी, मुकुन्द कुमार क्षेत्रीले नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकका रूपमा काम गर्नुका साथै धितोपत्र बोर्डको सञ्चालक समिति अध्यक्ष र नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सञ्चालकको जिम्मेवारी पनि सम्हालिसकेका छन् ।
सिफारिस समितिले शुक्रबार नै चार जनाको नाम मन्त्रिपरिषद्मा पठाउने तयारी गरेको छ । त्यसपछि मन्त्रिपरिषद्ले सर्टलिस्टमा परेका उम्मेदवारमध्ये एक जनालाई बोर्ड अध्यक्षमा नियुक्त गर्नेछ ।