काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरूले शेयर बजारमा ४६ अर्बभन्दा बढी रकम लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार नेप्सेमा सूचीकृत १३ जीवन बीमा कम्पनीहरूको कुल शेयर लगानी चैत मसान्तसम्म ४६ अर्ब ११ करोड ७७ लाख ७२ हजार रुपैयाँ पुगेको हो ।
समीक्षा अवधिमा हिमालयन लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै रकम शेयर बजारमा लगानी गरेको छ । कम्पनीको लगानी १२ अर्ब ४६ करोड ८४ लाख रुपैयाँ पुगेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.२० प्रतिशतले बढी हो ।
त्यसपछि नेपाल लाइफ इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म शेयर बजारमा ६ अर्ब ९६ करोड ३३ लाख रुपैयाँ लगानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी ४ अर्ब ८८ करोड रुपैयाँ रहेको थियो ।

अन्य कम्पनीहरूमध्ये सूर्यज्योति लाइफले आफ्नो शेयर लगानी ९०.६५ प्रतिशतले बढाएर ५ अर्ब १५ करोड रुपैयाँ पुर्याएको छ । एलआईसी नेपालले २९ प्रतिशत वृद्धि गर्दै ३ अर्ब १३ करोड रुपैयाँ लगानी गरेको छ भने नेशनल लाइफले १२७ प्रतिशतको उल्लेख्य वृद्धि गर्दै ३ अर्ब २ करोड रुपैयाँ लगानी गरेको छ ।
त्यस्तै, आइएमई लाइफले ११३ प्रतिशतले वृद्धि गरी २ अर्ब ८८ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले ११० प्रतिशतले बढाएर २ अर्ब ८४ करोड रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले ३९ प्रतिशतले वृद्धि गर्दै २ अर्ब ३३ करोड रुपैयाँ शेयर बजारमा लगानी गरेका छन् ।
सानिमा रिलायन्स लाइफले सबैभन्दा उच्च वृद्धिदरमध्ये एक कायम गर्दै १६१ प्रतिशतले लगानी बढाएर २ अर्ब ७ करोड रुपैयाँ पुर्याएको छ । यसैगरी, सिटिजन लाइफले ६१ प्रतिशत र एशियन लाइफले करिब ३५ प्रतिशतले शेयर लगानी बढाएका छन् ।
यता, समीक्षा अवधिमा भने सन नेपाल लाइफ र राष्ट्रिय जीवन बीमा कम्पनीको शेयर बजार लगानी घटेको देखिएको छ । सन नेपाल लाइफले आफ्नो लगानी ७.७८ प्रतिशतले घटाएर १ अर्ब ५९ करोड रुपैयाँमा सीमित गरेको छ भने राष्ट्रिय जीवन बीमा कम्पनीको लगानी ६८ प्रतिशतले घटेर ६७ करोड रुपैयाँमा झरेको छ ।