काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि अघि बढाइएको पुरानो छनोट प्रक्रिया रद्द गरिएको छ। अर्थ मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै यसअघि अध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिमार्फत सुरु गरिएको सम्पूर्ण प्रक्रिया खारेज गरिएको जनाएको हो।
मन्त्रालयका अनुसार सिफारिस समितिले २०८२ वैशाख १४ गते प्रकाशित गरेको सूचनाअनुसार सञ्चालनमा रहेको अध्यक्ष छनोट प्रक्रिया सोही सूचनाको सर्तअनुसार रद्द गरिएको हो। यससँगै उक्त प्रक्रियाअन्तर्गत परेका सबै आवेदन स्वतः निष्क्रिय भएका छन्।
यसअघि अध्यक्ष पदका लागि महेश्वर न्यौपाने, रमेशकुमार भट्टराई, यज्ञप्रसाद न्यौपाने, डा. राजेन्द्र पण्डित, डा. दीपबहादुर भण्डारी, देवकुमार ढकाल, ज्ञानेन्द्र अधिकारी, चिन्तामणि सिवाकोटी, डा. दामोदर बसौला, बुद्धकाजी श्रेष्ठ, विष्णुबाबु मिश्र, पारस काफ्ले, विक्रान्त पाण्डे र घनश्याम बुढाथोकीसहित १४ जनाले आवेदन दिएका थिए।
हाल प्राधिकरणको अध्यक्षको जिम्मेवारी चन्द्रकला पौडेलले सम्हालिरहेकी छन्। सचिवस्तरकी कर्मचारी पौडेलले २०८२ माघ १३ गते अध्यक्ष पदको कार्यभार ग्रहण गरेकी थिइन्।
यसबीच सरकारले अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढाउन नयाँ सिफारिस समिति गठन गरिसकेको छ। वैशाख ८ गते बसेको मन्त्रिपरिषद् बैठकले गठन गरेको तीन सदस्यीय समितिको संयोजकमा डा. गुणाकर भट्ट रहेका छन्। समितिका सदस्यमा घनश्याम उपाध्याय तथा विज्ञ सदस्यमा फत्तबहादुर केसी रहेका छन्।
अर्थ मन्त्रालयका अनुसार अब उक्त सिफारिस समितिले नयाँ सूचना प्रकाशित गरी अध्यक्ष पदका लागि पुनः आवेदन आह्वान गर्नेछ। नयाँ प्रक्रियामार्फत योग्य उम्मेदवार छनोट गरी सरकारसमक्ष नाम सिफारिस गरिने जनाइएको छ।