free website hit counter

ह्वाइट हाउसनजिक गोलीकाण्ड, एक जनाको मृत्यु; ट्रम्प भवनभित्रै थिए

beemaadmin
२०८३ जेष्ठ १०, आईतवार

काठमाडौं । अमेरिकाको राजधानी वासिङटन डीसीस्थित ह्वाइट हाउसनजिक शनिबार राति भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ। घटनाका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसभित्रै रहेको बताइएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार गोली चलेको आवाज सुनिएलगत्तै ह्वाइट हाउस परिसरमा उच्च सतर्कता अपनाइएको थियो। त्यहाँ उपस्थित पत्रकारहरूलाई गुप्तचर सेवाले तत्काल सुरक्षित स्थानमा बस्न निर्देशन दिएको थियो भने केही समयका लागि सम्पूर्ण क्षेत्र सुरक्षा नियन्त्रणमा लिइएको थियो।

घटनापछि एफबीआई, अमेरिकी गुप्तचर सेवा र अन्य सुरक्षा निकाय घटनास्थलमा परिचालित भएका थिए। ह्वाइट हाउसको उत्तरी क्षेत्र खाली गराएर थप सुरक्षा घेरा कायम गरिएको थियो।

प्रारम्भिक विवरणअनुसार सुरक्षाकर्मीले शंकास्पद व्यक्तिमाथि गोली चलाएका थिए, जसको घटनास्थलमै मृत्यु भएको बताइएको छ। घटनाका क्रममा एक सर्वसाधारण पनि घाइते भएका छन्। घाइतेको उपचार भइरहेको र उनको अवस्थाबारे थप जानकारी सार्वजनिक गरिएको छैन।

एफबीआई निर्देशक कास पटेलले सामाजिक सञ्जालमार्फत घटनाको अनुसन्धान जारी रहेको जानकारी दिँदै विस्तृत विवरण छिट्टै सार्वजनिक गरिने बताएका छन्।

यसअघि पनि करिब एक महिनाअघि वासिङटन डीसीमा आयोजित ह्वाइट हाउस संवाददाता रात्रिभोजका क्रममा गोली चलेको घटना भएको थियो। उक्त कार्यक्रममा राष्ट्रपति ट्रम्प, प्रथम महिला मेलानिया ट्रम्प तथा उपराष्ट्रपति जेडी भान्ससहित उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो। त्यस घटनामा मानवीय क्षति नभए पनि एक व्यक्तिलाई पक्राउ गरिएको थियो।

सम्बन्धित समाचार