काठमाडौं । सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटतर्फ उन्मुख भएको संकेत देखिएको छ । स्वास्थ्य बीमा बोर्डले आर्थिक अभाव देखाउँदै देशभरका निजी अस्पतालमा आकस्मिकबाहेकका सबै स्वास्थ्य बीमा सेवा स्थगित गर्ने निर्णय गरेपछि लाखौँ सेवाग्राही अन्योलमा परेका छन् ।
बोर्डले जारी गरेको सूचनाअनुसार आगामी जेठ १६ गतेदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिँदै आएका नियमित बीमा सेवा बन्द रहनेछन् ।
यस निर्णयसँगै स्वास्थ्य बीमा गरेका नागरिकले निजी अस्पतालबाट ओपीडी सेवा, स्वास्थ्य परीक्षण, शल्यक्रिया, औषधि तथा नियमित उपचार सेवा सहज रूपमा पाउन नसक्ने भएका छन् । आकस्मिक सेवा भने यथावत सञ्चालन हुने बोर्डले जनाएको छ ।
देशभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध ३६ वटा निजी अस्पताल तथा मेडिकल कलेज यस निर्णयबाट प्रत्यक्ष प्रभावित हुने भएका छन् ।
“सबै नागरिकलाई स्वास्थ्य सेवामा पहुँच” भन्ने उद्देश्यसहित सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम आर्थिक संकट, प्रशासनिक कमजोरी तथा बक्यौता भुक्तानी समस्याका कारण धराशायी हुने अवस्थामा पुगेको भन्दै आलोचना बढ्न थालेको छ ।
स्रोतका अनुसार सरकारले निजी अस्पताललाई वर्षौँदेखि दिनुपर्ने अर्बौँ रुपैयाँ भुक्तानी गर्न नसक्दा निजी क्षेत्र निरन्तर दबाबमा थियो । सोही कारण स्वास्थ्य बीमा बोर्ड सेवा कटौती गर्ने निर्णयमा पुगेको बताइएको छ ।