free website hit counter

सूर्यज्योति लाइफको ‘झ्याप्पै’ बीमा कर्जा

beemaadmin
२०८३ जेष्ठ २१, बिहीबार

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स ले नेपालमै पहिलोपटक पूर्ण रूपमा डिजिटल माध्यमबाट बीमा धितोमा कर्जा प्रवाह गर्ने उद्देश्यसहित ‘झ्याप्पै’ अभियान सञ्चालनमा ल्याएको छ।

ग्राहकलाई छिटो, सहज र झन्झटरहित कर्जा सेवा उपलब्ध गराउने लक्ष्यका साथ कम्पनीले यो योजना सार्वजनिक गरेको हो। यसअन्तर्गत योग्य बीमितहरूले घरमै बसेर अनलाइन प्रक्रियामार्फत तत्काल बीमा कर्जा प्राप्त गर्न सक्नेछन्।

कम्पनीका अनुसार यस योजनामार्फत बीमितहरूले अधिकतम २ लाख रुपैयाँसम्म कर्जा लिन सक्नेछन्। साथै, कर्जा आवेदनका क्रममा लाग्ने ५० रुपैयाँ सेवा शुल्कमा शतप्रतिशत क्यासब्याक सुविधा पनि प्रदान गरिएको छ।

यो सेवा पूर्ण रूपमा डिजिटल भएकाले कर्जा लिन कुनै कागजी प्रक्रिया वा अतिरिक्त कागजात पेश गर्नुपर्ने झन्झट नहुने कम्पनीले जनाएको छ।

कर्जा लिन इच्छुक बीमितहरूले सर्वप्रथम सूर्यज्योति लाइफको मोबाइल एपमार्फत आफ्नो कर्जा योग्यता जाँच गर्न सक्नेछन्। त्यसपछि उपलब्ध गराइएको वित्तीय वालेटको लिंकमार्फत वा वालेट एपभित्र रहेको ‘बीमा तथा सुरक्षा’ खण्डअन्तर्गत ‘सूर्यज्योति ई–कर्जा’ विकल्पमा गई आफ्नो बीमालेख नम्बर प्रविष्ट गरेर प्रक्रिया पूरा गर्नुपर्नेछ। प्रक्रिया सम्पन्न भएसँगै कर्जा रकम तत्काल प्राप्त हुने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यो अभियानले बीमितहरूलाई सुरक्षित, सरल र सहज वित्तीय पहुँच प्रदान गर्नुका साथै नेपालको डिजिटल वित्तीय सेवाको विस्तारमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सूर्यज्योति लाइफले आफ्ना आधिकारिक डिजिटल प्लेटफर्म तथा सामाजिक सञ्जालमार्फत अभियानको प्रवर्द्धन गरिरहेको जनाएको छ। साथै, यो सेवा र जानकारी बढीभन्दा बढी सेवाग्राहीसम्म पुर्‍याउन सरोकारवालाहरूसँग सहयोगको अपेक्षा पनि गरेको छ।

सम्बन्धित समाचार