free website hit counter

बीमा रकम हत्याउन चोरीको नाटक

beemaadmin
२०८३ जेष्ठ २८, बिहीबार

काठमाडौं । बीमा दाबी रकम हत्याउने उद्देश्यले आफ्नै पसलमा चोरी भएको नाटक रच्ने एक सुनचाँदी व्यवसायी र उनका कर्मचारी पक्राउ परेका छन्।

बुटवल उपमहानगरपालिका–५ अमरपथस्थित तिनाउ सुनचाँदी पसल का सञ्चालक दीपक विक र कर्मचारी नवीन विक लाई प्रहरीले बुधबार पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवका अनुसार सञ्चालक विकले गत जेठ १७ गते आफ्नो पसलबाट १ करोड ४६ लाख १४ हजार ७ सय रुपैयाँ बराबरका सुनचाँदीका गहना चोरी भएको भन्दै उजुरी दिएका थिए।

Advertisement
Advertisement

उजुरीमा उनले आफू घटना भएको समयमा पोखरामा रहेको र पसलको सिसिटिभी प्रणालीसमेत बिग्रिएको दाबी गरेका थिए। तर घटनाको सूक्ष्म अनुसन्धानपछि वास्तविक चोरी नभई योजनाबद्ध रूपमा चोरीको नाटक रचिएको खुलेको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement

अनुसन्धानका क्रममा बीमा रकम दाबी गर्ने तथा पसलमा रहेको सुनचाँदी र नगदको जिम्मेवारीबाट बच्न सञ्चालक र कर्मचारीको मिलेमतोमा झुटो चोरीको घटना सिर्जना गरिएको पाइएको छ।

करिब ४० वर्षदेखि सञ्चालनमा रहेको उक्त पसलमा रातिको समयमा च्यानल गेटको ताला खोलेर चोरी भएको जस्तो देखाउने प्रयास गरिएको थियो। साथै, लकर विभिन्न चाबी प्रयोग गरेर खोलिएको जस्तो दृश्य सिर्जना गरिएको समेत अनुसन्धानबाट खुलेको छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय, प्रदेश अनुसन्धान कार्यालय तथा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोलीले दुवै जनालाई नियन्त्रणमा लिई आपराधिक विश्वासघात सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीले बीमा दाबी प्रक्रियामा झुटा विवरण पेश गर्ने तथा आर्थिक लाभ लिनका लागि नक्कली घटना सिर्जना गर्ने कार्य कानुनअनुसार गम्भीर अपराध भएको भन्दै यस्ता गतिविधिविरुद्ध कडा कारबाही गरिने जनाएको छ। तस्बिरः AI

सम्बन्धित समाचार