free website hit counter

एक सातामै प्रतितोला १७ हजार रुपैयाँ घट्यो सुनको मूल्य

beemaadmin
२०८३ जेष्ठ ३०, शनिबार

काठमाडौं । नेपाली सुन बजारमा पछिल्लो एक साताको अवधिमा सुनको मूल्यमा उल्लेखनीय उतारचढाव देखिएको छ। सात दिनको अवधिमा सुनको मूल्य प्रतितोला १७ हजार रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार जेठ २२ गते शुक्रबार प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य जेठ २९ गते शुक्रबारसम्म आइपुग्दा १७ हजार रुपैयाँले घटेर २ लाख ९२ हजार रुपैयाँ कायम भएको छ।

महासंघका तथ्यांकअनुसार जेठ २४ गते आइतबार सुनको मूल्य एकैदिन प्रतितोला ८ हजार २०० रुपैयाँले घटेर ३ लाख ८०० रुपैयाँमा झरेको थियो। त्यसको भोलिपल्ट जेठ २५ गते सोमबार पनि सुनको मूल्य ९०० रुपैयाँले घट्दै प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, जेठ २६ गते मंगलबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेर ३ लाख १ हजार ९०० रुपैयाँ पुगेको थियो। तर, जेठ २७ गते बुधबार सुनको मूल्यमा ठूलो गिरावट देखिँदै प्रतितोला १० हजार १०० रुपैयाँले घटेर २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

जेठ २८ गते बिहीबार पनि सुनको मूल्य घट्ने क्रम जारी रहँदै प्रतितोला ५ हजार १०० रुपैयाँले कमी भई २ लाख ८६ हजार ७०० रुपैयाँमा झरेको थियो। यद्यपि, जेठ २९ गते शुक्रबार भने सुनको मूल्यमा केही सुधार देखिएको छ। उक्त दिन प्रतितोला ५ हजार ३०० रुपैयाँले वृद्धि हुँदै सुन २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

सुन व्यवसायीहरूका अनुसार बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर थप घटाउन सक्ने अनुमानले पनि सुनको मूल्यमा दबाब परेको हुन सक्छ। साथै, अन्तर्राष्ट्रिय बजारमा जारी भू–राजनीतिक तनाव, केही मुलुकहरूले सुनको मौज्दात बिक्री गरेको अवस्था तथा विश्व बजारको माग–आपूर्तिमा आएको परिवर्तनका कारण पनि सुनको मूल्य प्रभावित भएको बताइएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिकरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय आर्थिक तथा राजनीतिक घटनाक्रमले सुन बजारमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले मूल्यमा तीव्र उतारचढाव देखिएको हो।

सम्बन्धित समाचार