free website hit counter

स्वास्थ्य बीमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख रुपैयाँ निकासा हुँदै

beemaadmin
२०८३ असार २, मंगलवार

काठमाडौं ।  स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा दाबी भुक्तानीअन्तर्गत विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई थप ९१ करोड १८ लाख ९४ हजार रुपैयाँ भुक्तानी गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।

नयाँ सरकार गठनपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै स्वास्थ्य बीमा तथा विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत बाँकी दायित्व भुक्तानीलाई उच्च प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार गत जेठ १३ गते स्वास्थ्य बीमा दाबीबापत १ अर्ब ३ करोड २४ लाख ७७ हजार रुपैयाँ भुक्तानी गरिएको थियो। त्यसैगरी, जेठ २१ गते विपन्न नागरिकको औषधि उपचार खर्चबापत ३२ करोड १३ लाख ६ हजार रुपैयाँ निकासा गरिएको थियो।

Advertisement
Advertisement

यस्तै, जेठ २७ गते थप २७ करोड ३७ लाख ७८ हजार रुपैयाँ भुक्तानी गरिएको मन्त्रालयले जानकारी दिएको छ।

सरकारले विगत आर्थिक वर्षदेखि बाँकी रहेको स्वास्थ्य बीमा दाबी तथा विपन्न नागरिकको औषधि उपचारसम्बन्धी बक्यौता रकम भुक्तानीलाई विशेष प्राथमिकतामा राख्दै आवश्यक स्रोत व्यवस्थापन र भुक्तानी प्रक्रियालाई तीव्र बनाएको जनाएको छ।

स्वास्थ्य बीमा बोर्डका अनुसार सेवा प्रदायक संस्थाहरूको बक्यौता भुक्तानीलाई निरन्तरता दिँदै स्वास्थ्य बीमा कार्यक्रमप्रति नागरिकको विश्वास थप मजबुत बनाउने तथा स्वास्थ्य सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।

सम्बन्धित समाचार