free website hit counter

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. भट्ट नियुक्त, पुँजी बजार सुधारको अपेक्षा बढ्यो

beemaadmin
२०८३ असार ६, शनिबार

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको नयाँ अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो। लामो समयदेखि रिक्त रहेको सेबोन नेतृत्वमा अनुभवी नियामक र पुँजी बजार विज्ञको आगमनसँगै लगानीकर्ता तथा बजार सरोकारवालाहरूले संस्थागत सुधार र बजार विकासको अपेक्षा गरेका छन्।

डा. भट्टले बैंकिङ नियमन, वित्तीय व्यवस्थापन, सुपरिवेक्षण तथा आर्थिक अनुसन्धानको क्षेत्रमा तीन दशकभन्दा बढी अनुभव हासिल गरेका छन्। नेपाल राष्ट्र बैंकमा लामो समय सेवा गरेका उनी वित्तीय क्षेत्रका अनुभवी प्रशासकका रूपमा परिचित छन्। राष्ट्र बैंकमा रहँदा उनले बैंक सुपरिवेक्षण विभाग, वित्त कम्पनी सुपरिवेक्षण विभाग, आर्थिक अनुसन्धान विभाग, वित्तीय व्यवस्थापन विभाग, सार्वजनिक ऋण व्यवस्थापन विभाग तथा मानव संसाधन व्यवस्थापन विभागलगायत महत्वपूर्ण विभागहरूको नेतृत्व सम्हालेका थिए।

वित्तीय प्रणालीको नियमन र व्यवस्थापनमा गहिरो अनुभव बटुलेका भट्टलाई विशेषगरी पुँजी बजारसम्बन्धी अध्ययन र अनुसन्धानका कारण फरक रूपमा हेरिन्छ। उनले ‘नेपालमा धितोपत्र बजारको प्रभावकारिता’ विषयमा विद्यावारिधि (पीएचडी) गरेका छन्। उनको अध्ययनले नेपालको पुँजी बजार आर्थिक वृद्धिसँग सम्बन्धित भए पनि अझै संरचनागत कमजोरी, सीमित लगानीकर्ता आधार र संस्थागत चुनौतीबाट प्रभावित रहेको निष्कर्ष निकालेको थियो।

यस्तै, शेयर बजार र आर्थिक वृद्धिबीचको सम्बन्धबारे उनले गरेको अनुसन्धान नेपाल धितोपत्र बोर्डको जर्नलमा समेत प्रकाशित भइसकेको छ। उक्त अध्ययनमा पुँजी बजारलाई दीर्घकालीन आर्थिक विकासको आधारका रूपमा विकास गर्न नियामकीय सुधार, पारदर्शिता र लगानीकर्ता संरक्षणमा विशेष ध्यान दिनुपर्ने सुझाव दिइएको थियो।

बजार विज्ञहरूका अनुसार भट्टको नियुक्तिसँगै सेबोनले लामो समयदेखि थाँती रहेका नीतिगत सुधार, नयाँ वित्तीय उपकरणको विकास, संस्थागत लगानीकर्ताको विस्तार तथा लगानीकर्ता हित संरक्षणका विषयमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ। पछिल्ला वर्षहरूमा नेपाली पुँजी बजारमा देखिएको अस्थिरता, नियामकीय कमजोरी तथा बजारमा बढ्दो अविश्वासलाई सम्बोधन गर्न नयाँ नेतृत्वले प्रभावकारी कदम चाल्नुपर्ने चुनौती पनि रहेको छ।

हाल डा. भट्ट विभिन्न विश्वविद्यालय तथा कलेजहरूमा लगानी व्यवस्थापन, सुरक्षा विश्लेषण, पोर्टफोलियो व्यवस्थापन, वित्तीय डेरिभेटिभ्स, मर्जर तथा एक्विजिसन तथा कर्पोरेट पुनर्संरचनाजस्ता विषय अध्यापन गरिरहेका छन्। शैक्षिक र व्यावसायिक दुवै क्षेत्रमा सक्रिय रहेका भट्टको नेतृत्वमा सेबोनले पुँजी बजारलाई थप व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने अपेक्षा गरिएको छ।

विशेषगरी दोस्रो बजारको विकास, वास्तविक क्षेत्रका कम्पनीहरूको सहभागिता वृद्धि, संस्थागत लगानी प्रवर्द्धन तथा लगानीकर्ता शिक्षाजस्ता विषय अब नयाँ अध्यक्षको प्राथमिकतामा पर्ने अनुमान गरिएको छ। पुँजी बजार सुधारको बहस चलिरहेका बेला अनुभवी नियामक तथा अनुसन्धानकर्ताका रूपमा परिचित डा. भट्टको नियुक्तिलाई वित्तीय क्षेत्रले चासोका साथ हेरेको छ।

सम्बन्धित समाचार