काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पार्टी सभापति रवि लामिछाने लाई प्रथम महाधिवेशनको अवसरमा शुभकामना दिएका छन्।
आइतबारदेखि सुरु भएको रास्वपाको पहिलो महाधिवेशनको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै थापाले छोटो समयमै रास्वपाले उल्लेखनीय जनसमर्थन हासिल गर्दै राष्ट्रिय राजनीतिमा बलियो उपस्थिति स्थापित गरेको बताएका छन्।
उनले रवि लामिछानेको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय रहेको उल्लेख गरेका छन्।
थापाले रास्वपाको प्रथम महाधिवेशन विचार, संगठन र नीतिगत दृष्टिले अझ परिपक्व, जिम्मेवार तथा दूरदर्शी राजनीतिक दिशा तय गर्ने ऐतिहासिक अवसर भएको बताएका छन्।
उनले लोकतान्त्रिक मूल्य, मान्यता र अभ्यासलाई आत्मसात् गर्दै संविधानप्रदत्त नागरिक अधिकारको संरक्षणमा पार्टी अझ स्पष्ट, जवाफदेही र उत्तरदायी बन्ने अपेक्षा व्यक्त गरेका छन्।
साथै, महाधिवेशनले रास्वपालाई नयाँ ऊर्जा, स्पष्ट वैचारिक दिशा र सुदृढ संगठनात्मक आधार प्रदान गर्ने विश्वास समेत व्यक्त गरेका छन्।
रास्वपाले चितवनमा आयोजना गरेको प्रथम महाधिवेशनमा देशभर तथा विदेशस्थित सम्पर्क समितिबाट चयन भएका हजारौं प्रतिनिधिहरू सहभागी भएका छन्।