free website hit counter

मनसुन सक्रिय : भारी वर्षा, बाढी र पहिरोको जोखिम बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

beemaadmin
२०८३ असार १५, सोमबार

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) ले मनसुनी गतिविधि सक्रिय भएसँगै देशका विभिन्न क्षेत्रमा भारी वर्षा, मेघगर्जन, चट्याङ, बाढी र पहिरोको जोखिम बढेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणले आइतबार जारी गरेको सूचनाअनुसार जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने सम्भावना रहेको छ। केही स्थानमा अत्यधिक वर्षा हुन सक्ने चेतावनी पनि दिइएको छ।

त्यसैगरी, देशका अन्य पहाडी तथा तराई भूभागका धेरै स्थान र हिमाली क्षेत्रका केही स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको प्राधिकरणले जनाएको छ।

भारी वर्षाका कारण आकस्मिक बाढी, पहिरो, डुबान, नदी तथा खोलामा पानीको सतह बढ्ने, सडक अवरुद्ध हुने तथा जनधनको क्षति हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ।

विशेषगरी बाढी आउन सक्ने नदी तथा खोला आसपास, पहिरोको जोखिम भएका बस्ती तथा जोखिमयुक्त सडकमार्गमा अनावश्यक आवतजावत नगर्न अनुरोध गरिएको छ। जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा जान तथा आफन्त र छिमेकीलाई समयमै सचेत गराउन पनि प्राधिकरणले अपिल गरेको छ।

यसैबीच, सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा सम्बन्धित निकायलाई उद्धार तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। निर्माणाधीन तथा जोखिमयुक्त सडकमा डोजर, एक्साभेटर र लोडरजस्ता उपकरण तयारी अवस्थामा राख्न तथा जिल्ला र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वय गरेर पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन पनि प्राधिकरणले आग्रह गरेको छ।

विपद्सम्बन्धी सूचना तथा आपत्कालीन सहयोगका लागि वर्षा तथा बाढीसम्बन्धी जानकारी ११५५, विपद् व्यवस्थापन हेल्पलाइन ११४९, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी बल १११४ मा सम्पर्क गर्न प्राधिकरणले अनुरोध गरेको छ।

फाइल तस्बिर

सम्बन्धित समाचार