काठमाडौं, असार १६ — नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ‘नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए) अवार्ड–२०२५’ अन्तर्गत गोल्ड अवार्डबाट सम्मानित भएको छ। कम्पनीले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा उक्त उपलब्धि हासिल गरेको जनाएको छ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले आयोजना गरेको विशेष समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले संयुक्त रूपमा अवार्ड ग्रहण गरेका हुन्।
कम्पनीका अनुसार आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, पर्याप्त खुलासा, वित्तीय प्रतिवेदन मापदण्डको प्रभावकारी कार्यान्वयन तथा संस्थागत सुशासनप्रतिको प्रतिबद्धताका आधारमा नेपाल लाइफलाई उक्त सम्मान प्रदान गरिएको हो।

अवार्ड प्राप्तिपछि प्रमुख कार्यकारी अधिकृत पराजुलीले यो सम्मान सम्पूर्ण नेपाल लाइफ परिवारका लागि गौरवको विषय भएको प्रतिक्रिया दिए। उनले यसबाट वित्तीय पारदर्शिता, सुशासन र उत्कृष्ट कार्यसम्पादनलाई अझ सुदृढ बनाउन प्रेरणा मिलेको उल्लेख गर्दै बीमित, अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा अन्य सरोकारवालाप्रति आभार व्यक्त गरे।
कम्पनीका अनुसार चैत मसान्त २०८३ सम्म ५२ लाख ४० हजारभन्दा बढी बीमालेख जारी भएका छन्। हाल कम्पनीले २ खर्ब ६७ अर्ब रुपैयाँभन्दा बढीको जीवन बीमा कोष व्यवस्थापन गरिरहेको तथा १ खर्ब १३ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरिसकेको जनाएको छ।
नेपाल लाइफले हालसम्म नेपाल सरकारलाई १७ अर्ब रुपैयाँभन्दा बढी राजस्व तथा कर बुझाइसकेको पनि जनाएको छ। साथै, कम्पनीले इक्रा नेपालबाट ‘डबल ए माइनस (AA-)’ क्रेडिट रेटिङ प्राप्त गर्ने नेपालको पहिलो जीवन बीमा कम्पनी बनेको दाबी गरेको छ।
हाल कम्पनीको सेवा सञ्जाल ७७ वटै जिल्लामा फैलिएको छ। कम्पनीका १९७ वटा कार्यालय र ६५ हजारभन्दा बढी सक्रिय अभिकर्तामार्फत सेवा प्रवाह भइरहेको जनाएको छ।
नेपाल लाइफले आगामी दिनमा पनि विश्वास, पारदर्शिता र उत्कृष्ट सेवामार्फत नागरिकको आर्थिक सुरक्षा र समृद्ध भविष्य निर्माणमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।