free website hit counter

आज प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन

beemaadmin
२०८३ असार २३, मंगलवार

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले जारी गरेको ‘६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३’ मा आवेदन दिने आज (असार २३ गते) अन्तिम दिन हो। बैंकले असार १६ गतेदेखि १० वर्ष अवधिको वार्षिक ६.२५ प्रतिशत ब्याजदर भएको ऋणपत्र बिक्री खुला गरेको थियो।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ, जसको कुल मूल्य ३ अर्ब रुपैयाँ बराबर रहेको छ।

कुल निष्काशनमध्ये १८ लाख कित्ता (६० प्रतिशत) व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख कित्ता (४० प्रतिशत) सर्वसाधारणका लागि छुट्याइएको छ। सर्वसाधारणतर्फ छुट्याइएकोमध्ये ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सबै कित्तासम्म आवेदन दिन सक्नेछन्।

यस ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले मेरो सेयर प्रणालीमार्फत वा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्।

बैंकले यस ऋणपत्रका लागि गराएको केयर रेटिङ्स नेपालको मूल्यांकनमा CARE-NP A- (Issuer Rating) प्राप्त गरेको छ, जसले बैंकको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमता उच्च रहेको संकेत गर्छ।

ऋणपत्रबाट प्राप्त हुने ब्याज प्रत्येक आर्थिक वर्षको पहिलो र दोस्रो अर्धवार्षिक समाप्तिपछि लागू कर कट्टा गरी लगानीकर्ताको खातामा भुक्तानी गरिने बैंकले जनाएको छ।

सम्बन्धित समाचार