free website hit counter

रिलायबल नेपाल लाइफद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ५० लाख रुपैयाँ सहयोग

beemaadmin
२०८३ श्रावण १, शुक्रबार

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ५० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको उपस्थितिमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहोनीले संस्थाका अध्यक्ष डा. भगवान कोइरालालाई ५० लाख रुपैयाँको सहयोग रकम हस्तान्तरण गरेका हुन्।

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ बालबालिकालाई गुणस्तरीय, सहज र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित आधुनिक बहुविशेषज्ञ बाल अस्पताल निर्माणको प्रक्रियामा रहेको संस्था हो। संस्थाले विशेषगरी बाल हृदय रोग, क्यान्सर उपचार, मानसिक स्वास्थ्य तथा सघन उपचार सेवाजस्ता अत्यावश्यक क्षेत्रमा सेवा विस्तार गर्ने लक्ष्य लिएको छ।

रिलायबल नेपाल लाइफले उक्त सहयोगले बाल स्वास्थ्य सेवाको पहुँच विस्तार, आवश्यक पूर्वाधार विकास तथा भविष्यमा हजारौं बालबालिका र उनीहरूका परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

कम्पनीले स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रलाई प्राथमिकतामा राख्दै विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। यस सहयोगले कम्पनीको सामाजिक उत्तरदायित्व, विश्वास र मानवीय सेवाप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाउने विश्वास पनि व्यक्त गरिएको छ।

कम्पनीले आगामी दिनमा पनि स्वास्थ्य, शिक्षा तथा अन्य सामाजिक क्षेत्रमा यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

सम्बन्धित समाचार