free website hit counter

साउन १ देखि हिमालयन रिका सबै  कारोबार सञ्चालनमा

beemaadmin
२०८३ श्रावण ५, मंगलवार

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले साउन १ गतेदेखि पुनः पूर्ण रूपमा पुनर्बीमा व्यवसाय सञ्चालनमा ल्याएको छ। नेपाल बीमा प्राधिकरणले गत वैशाख २९ गते नयाँ बीमा व्यवसायमा लगाएको प्रतिबन्धको अवधि असार मसान्तमा सकिएपछि कम्पनीले सबै प्रकारका पुनर्बीमा कारोबार पुनः सुरु गरेको हो।

कम्पनीका कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष केसीले साउन १ गतेदेखि कम्पनीमाथि लगाइएका सबै कारबाही समाप्त भएको र पुनर्बीमा व्यवसाय पूर्ण रूपमा सञ्चालनमा आएको जानकारी दिए। उनका अनुसार कम्पनीले फ्याकल्टेटिभ तथा ट्रिटीसहित सबै प्रकारका पुनर्बीमा सम्झौता पुनः सुरु गरिसकेको छ।

यद्यपि, कम्पनीले प्राप्त गर्नुपर्ने केही पुनर्बीमा हिस्साको विषयमा भने नियामकीय स्पष्टता आउन बाँकी रहेको बताइएको छ।

यसअघि कम्पनीको खातामा रहेको २ अर्ब ७३ करोड रुपैयाँ बराबरको रकम शेयर खरिदको नाममा दुरुपयोग गरिएको आरोपमा मुद्दा दायर भएको थियो। उक्त मुद्दा अदालतमै विचाराधीन रहे पनि त्यसबाट कम्पनीको वित्तीय अवस्थामाथि तत्काल कुनै असर नपरेको कम्पनीको दाबी छ। दुरुपयोग भएको रकम सम्बन्धित पक्षबाट ब्याजसहित असुल गरिने प्रक्रिया अघि बढेकाले कम्पनीको वित्तीय अवस्था सुरक्षित रहेको कम्पनीले जनाएको छ।

कम्पनीले पछिल्लो समय नेपाली बीमा कम्पनीहरूलाई तिर्नुपर्ने सबै दायित्व नियमित रूपमा भुक्तानी गरिरहेको पनि जनाएको छ।

घोटाला प्रकरणपछि बीमा प्राधिकरणले दुई महिनाभन्दा बढी समय नयाँ व्यवसायमा प्रतिबन्ध लगाएको थियो। उक्त अवधि सकिएसँगै कम्पनी पुनः नियमित कारोबारमा फर्किएको हो।

बीमा प्राधिकरणका अनुसार हिमालयन रि इन्स्योरेन्समा सर्वसाधारणको समेत लगानी रहेकाले लगानीकर्ताको हित संरक्षणलाई प्राथमिकतामा राखिएको छ। कम्पनीको वित्तीय अवस्थामा तत्काल कुनै गम्भीर जोखिम नरहेको प्राधिकरणको निष्कर्ष छ।

यद्यपि, दुरुपयोग भएको रकम फिर्ता हुन समय लागेकाले केही भुक्तानीमा ढिलाइ भएको स्वीकार गर्दै कम्पनीले अहिले अधिकांश समस्या समाधान भइसकेको जनाएको छ।

प्राधिकरणले नयाँ व्यवस्थापनलाई सुशासन कायम गर्दै नियामकीय मापदण्डअनुसार कम्पनी सञ्चालन गर्न निर्देशन दिएको छ। साथै, कम्पनीको गतिविधिमाथि निरन्तर सूक्ष्म निगरानीसमेत भइरहेको जनाएको छ।

हिमालयन रिले स्वदेश तथा विदेश दुवै बजारमा पुनर्बीमा व्यवसाय विस्तार गर्ने बाटो पुनः खुलेको प्राधिकरणका अधिकारीहरू बताउँछन्। हालसम्म आवश्यक कारबाही सम्पन्न भइसकेकाले कम्पनी अब स्थिर र व्यवस्थित रूपमा सञ्चालन हुने अपेक्षा गरिएको छ।

घोटाला प्रकरणपछि कम्पनीका तत्कालीन सञ्चालकहरू बाहिरिसकेका छन्। हाल कम्पनीको अध्यक्षमा शंकरदेव क्याम्पसका प्राध्यापक उदय निरौला छन् भने नयाँ सञ्चालक समिति र व्यवस्थापन टोलीले कम्पनी सञ्चालन गरिरहेको छ। नयाँ नेतृत्वले सुशासन, पारदर्शिता र नियामकीय व्यवस्था पालना गर्दै कम्पनीलाई अघि बढाउने प्रतिबद्धता जनाएको छ।

सम्बन्धित समाचार