काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले यसअघि गरेको फैसला पुनरावलोकन गर्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पुनरावलोकन निवेदन दर्ता गरेको छ।
सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई वैधानिक ठहर गर्दै निर्वाचन आयोगले दिएको मान्यतालाई सदर गरेको थियो। उक्त फैसलापछि कांग्रेसको आधिकारिकता थापा नेतृत्वको कार्यसमितिले पाएको थियो।
तर, उक्त निर्णय कानुन र तथ्य दुवैका आधारमा त्रुटिपूर्ण रहेको दाबी गर्दै देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काका तर्फबाट बिहीबार वारेसमार्फत सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गरिएको देउवा पक्षका एक नेताले जानकारी दिए।
अब सर्वोच्च अदालतले पुनरावलोकनको निवेदन स्वीकार गर्ने वा नगर्ने विषयमा प्रारम्भिक निर्णय गर्नेछ। अनुमति प्राप्त भएमा मात्र मुद्दाको पुनः सुनुवाइ प्रक्रिया अगाडि बढ्नेछ।