free website hit counter

राष्ट्र बैंकको नयाँ व्यवस्था: अब वालेट खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य

beemaadmin
२०८३ श्रावण ९, शनिबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी सेवा (वालेट) प्रयोगलाई थप सुरक्षित र व्यवस्थित बनाउन नयाँ व्यवस्था लागू गरेको छ। अब नेपाली नागरिकले वालेट खोल्दा राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने भएको हो।

राष्ट्र बैंकले जारी गरेको परिपत्रअनुसार भुक्तानी सेवा प्रदायक संस्थाहरूले नेपाली नागरिकका लागि वालेट खोल्दा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखका आधारमा विवरण प्रमाणीकरण गरी ग्राहक पहिचान (केवाईसी) प्रक्रिया पूरा गर्नुपर्नेछ।

केन्द्रीय बैंकले २०८३ असोज मसान्तभित्र सबै भुक्तानी सेवा प्रदायकलाई मोबाइल एप वा अन्य उपयुक्त माध्यमबाट वालेट प्रयोगकर्तासँग राष्ट्रिय परिचयपत्रको विवरण भए–नभएको स्वघोषणा लिन निर्देशन दिएको छ।

त्यस्तै, राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेका प्रयोगकर्ताको हकमा २०८३ असोज मसान्तभित्र वालेटमा राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गरिसक्नुपर्ने व्यवस्था गरिएको छ।

राष्ट्रिय परिचयपत्र नलिएका नागरिकलाई भने परिचयपत्र प्राप्त गरी ग्राहक पहिचान विवरण अद्यावधिक गर्न प्रत्येक महिना मोबाइल एप वा अन्य माध्यमबाट जानकारी गराउनुपर्ने राष्ट्र बैंकले जनाएको छ।

विदेशमा रहेका नेपालीलाई विशेष व्यवस्था

विदेशमा बसोबास गर्ने नेपाली नागरिकले अनलाइनमार्फत वालेट खोल्नुपर्ने अवस्थामा राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बरबाहेक अन्य आवश्यक कागजातका आधारमा पनि वालेट खोल्न सक्ने व्यवस्था गरिएको छ।

तर, त्यस्ता प्रयोगकर्ताले नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित भुक्तानी सेवा प्रदायकसमक्ष राष्ट्रिय परिचयपत्रको विवरण पेश गरी वालेटको केवाईसी अद्यावधिक गराउनुपर्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

अशक्त तथा असहाय नागरिकलाई सहुलियत

आफ्नो हेरचाह आफैं गर्न नसक्ने, अशक्त तथा असहाय नागरिकका लागि भने राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभए पनि अन्य आवश्यक कागजातका आधारमा वालेट खोल्न र कारोबार गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

सम्बन्धित समाचार