free website hit counter

सानिमा बैंकको नाफामा ३८ प्रतिशत वृद्धि, वितरणयोग्य नाफा २ अर्ब ८३ करोड रुपैयाँ

beemaadmin
२०८३ श्रावण ११, सोमबार

काठमाडौं । सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ३ अर्ब ५५ करोड १ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८ प्रतिशत बढी हो। बैंकले आव २०८१/८२ को सोही अवधिमा २ अर्ब ५७ करोड २४ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको प्रकाशित अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद ब्याज आम्दानी १० प्रतिशतले बढेर ६ अर्ब ९९ करोड ५ लाख ८३ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ३५ करोड ५९ लाख ९७ हजार रुपैयाँ रहेको थियो।

त्यसैगरी, बैंकले १ अर्ब ३२ करोड ८० लाख ५७ हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी गरेको छ। कुल सञ्चालन आम्दानी ९ अर्ब ७३ करोड २३ लाख १४ हजार रुपैयाँ पुगेको बैंकले सञ्चालन नाफा ५ अर्ब १६ करोड ५१ लाख ७२ हजार रुपैयाँ आर्जन गरेको जनाएको छ।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ८३ करोड १७ लाख ७६ हजार रुपैयाँ पुगेको छ। यसका आधारमा बैंकको लाभांश क्षमता प्रतिशेयर २०.८५ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष वितरणयोग्य नाफा २ अर्ब १० करोड २९ लाख ६ हजार रुपैयाँ तथा लाभांश क्षमता १५.४८ रुपैयाँ रहेको थियो।

हाल बैंकको चुक्ता पुँजी १५ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ९ अर्ब १२ करोड ४५ लाख १५ हजार रुपैयाँ सञ्चित छ।

बैंकको व्यवसाय विस्तार पनि उल्लेख्य देखिएको छ। गत असार मसान्तसम्म निक्षेप संकलन ११ प्रतिशतले बढेर २ खर्ब ४९ अर्ब ११ करोड ८० लाख १७ हजार रुपैयाँ पुगेको छ। त्यस्तै, कर्जा प्रवाह १० प्रतिशतले वृद्धि भई १ खर्ब ९५ अर्ब ८८ करोड ४७ लाख ३० हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा बैंकले २ खर्ब २३ अर्ब ९५ करोड ४६ लाख ७९ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७६ अर्ब ४४ करोड ५ लाख ५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

समीक्षा अवधिमा बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८०.७७ प्रतिशत कायम भएको छ। साथै, खराब कर्जा अनुपात ३.०१ प्रतिशतबाट घटेर २.८७ प्रतिशतमा झरेको छ भने खुद खराब कर्जा अनुपात १.२० प्रतिशतबाट १.०२ प्रतिशतमा सीमित भएको छ।

नाफा वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १८.९४ रुपैयाँबाट बढेर २५.७५ रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा प्रतिसेयर नेटवर्थ १८८.४२ रुपैयाँ, मूल्य–आम्दानी अनुपात (पीई रेसियो) १३.५९ गुणा तथा इक्विटीमा प्रतिफल (आरओई) १४.३९ प्रतिशत कायम भएको बैंकले जनाएको छ।

सम्बन्धित समाचार