काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आज (सोमबार) देखि अमेरिका र इरानबीच नयाँ चरणको वार्ता सुरु हुने दाबी गरेका छन्। मध्यपूर्वका सहयोगी राष्ट्रहरूको आग्रहपछि इरानमाथि प्रस्तावित सैन्य आक्रमण स्थगित गर्दै कूटनीतिक संवादलाई अघि बढाइएको उनको भनाइ छ।
एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिका र इरानबीच सोमबार दिउँसो वार्ता सुरु हुने बताए। यद्यपि, वार्ता कहाँ हुने, कसको सहभागिता रहने वा कुन एजेन्डामा छलफल हुने भन्नेबारे उनले कुनै विवरण खुलाएनन्।
यसअघि आइतबार आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत ट्रम्पले इरान र मध्यपूर्वमा रहेका अमेरिकी सहयोगीहरूले सैन्य कारबाही रोक्न आग्रह गरेको र शान्ति सम्झौताको रूपरेखा अन्तिम चरणमा पुगेकाले आक्रमण स्थगित गरिएको दाबी गरेका थिए।
तर इरानले भने ट्रम्पको दाबीलाई अस्वीकार गरेको छ। इरानको अर्ध–सरकारी समाचार एजेन्सी मेहरका अनुसार तेहरानले अमेरिकालाई कुनै पनि सैन्य आक्रमण रोक्न आग्रह नगरेको स्पष्ट पारेको छ। इरानी पक्षले ट्रम्पको अभिव्यक्तिलाई ‘नयाँ झुट’ को संज्ञासमेत दिएको छ।
यसैबीच, इरानी सञ्चारमाध्यमहरूले विदेशमन्त्री अब्बास अराघचीलाई उद्धृत गर्दै ओमानको मध्यस्थतामा जारी हर्मुज स्ट्रेटसँग सम्बन्धित सम्झौताबारे वार्ता अन्तिम चरणमा पुगेको बताएका छन्।
अमेरिका र इरानबीच वार्ताको दाबी र त्यसप्रति इरानको अस्वीकारबीच मध्यपूर्वको सुरक्षा अवस्था र कूटनीतिक प्रयासप्रति अन्तर्राष्ट्रिय समुदायको चासो बढेको छ।