free website hit counter

शिक्षामा १ खर्ब २५ अर्ब रुपैयाँ बाहिरियो

beemaadmin
२०८३ श्रावण १८, सोमबार

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा विदेश अध्ययनका लागि नेपालबाट बाहिरिने रकम उल्लेखनीय रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार समीक्षा अवधिमा शिक्षातर्फ मात्रै १ खर्ब २४ अर्ब ८० करोड रुपैयाँ विदेशिएको छ।

यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७ अर्ब ७९ करोड रुपैयाँ बढी हो। गत आर्थिक वर्षको पहिलो ११ महिनामा शिक्षातर्फ १ खर्ब १७ अर्ब १ करोड रुपैयाँ खर्च भएको थियो।

राष्ट्र बैंकका अनुसार सेवा क्षेत्रतर्फको बढ्दो आयातका कारण खुद सेवा आय (नेट सर्भिस इन्कम) ९७ अर्ब ३३ करोड रुपैयाँ घाटामा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५६ अर्ब ३६ करोड रुपैयाँ थियो।

समीक्षा अवधिमा पर्यटनबाट हुने आम्दानी भने बढेको छ। भ्रमण आय ६.९ प्रतिशतले वृद्धि भई ८२ अर्ब २० करोड रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो आय ७६ अर्ब ८८ करोड रुपैयाँ रहेको थियो।

तर नेपालीहरूको विदेश भ्रमण खर्च अझ तीव्र गतिमा बढेको छ। भ्रमण व्यय १६.५ प्रतिशतले वृद्धि भएर २ खर्ब ३ अर्ब ९७ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ।

शिक्षा र विदेश भ्रमणमा बढ्दो खर्चका कारण सेवा क्षेत्रको बाह्य भुक्तानी दायित्व बढ्दै गएको देखिएको छ, जसले चालु खातामाथि थप दबाब सिर्जना गरेको विश्लेषण गरिएको छ।

सम्बन्धित समाचार