free website hit counter

सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट–२०२६’ भव्य सम्पन्न

beemaadmin
२०८३ श्रावण १८, सोमबार

काठमाडौं । नेपालका अग्रणी जीवन बीमा कम्पनीमध्ये एक सिटिजन लाइफ इन्स्योरेन्सले देशभरका उत्कृष्ट अभिकर्ता, एजेन्सी म्यानेजर र कर्मचारीलाई सम्मान तथा उत्प्रेरित गर्ने उद्देश्यले आयोजना गरेको ‘सिटिजन लिडर्स नाइट–२०२६’ भव्य रूपमा सम्पन्न गरेको छ।

साउन १६ गते काठमाडौंको रोयल टुलिप होटल, ग्वार्कोमा आयोजित कार्यक्रममा देशभरका ७७ वटै जिल्लाबाट एक हजारभन्दा बढी बीमा अभिकर्ता, शाखा प्रमुख तथा कर्मचारीको सहभागिता रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सञ्चालक महेश स्वर, प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, प्रमुख बजार अधिकृत भूषण रिमाललगायत सञ्चालक समिति र व्यवस्थापन टोलीको उपस्थिति रहेको थियो।

कार्यक्रममा कम्पनीले बीमा व्यवसायको सम्भावना, नेतृत्व विकास, बजार विस्तार तथा आगामी रणनीतिबारे विशेष प्रशिक्षण तथा पुनर्ताजगी तालिम सञ्चालन गरेको जनाएको छ। अध्यक्ष पाण्डेले सिटिजन लाइफलाई अझ सशक्त, दिगो र प्रविधिमैत्री संस्थाका रूपमा स्थापित गर्न सबै अभिकर्ता र कर्मचारीले एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिए।

यस अवसरमा कम्पनीले आफ्नो नयाँ ‘आई–सोलुसन सिस्टम भर्सन नेक्स्ट’ सफ्टवेयरको समेत शुभारम्भ गरेको छ। आधुनिक प्रविधिमा आधारित उक्त प्रणालीले सेवा प्रवाहलाई अझ छरितो, सुरक्षित, प्रभावकारी र ग्राहकमैत्री बनाउने कम्पनीको विश्वास छ।

कार्यक्रमको अर्को आकर्षण ह्युमानोइड रोबोट र रोबोटिक डगको प्रस्तुति रह्यो। आधुनिक प्रविधिसँग बीमा व्यवसायलाई जोड्ने उद्देश्यले प्रस्तुत गरिएको यस आकर्षणले सहभागीहरूको विशेष ध्यान तानेको थियो।

यस वर्ष उत्कृष्ट कार्यसम्पादन गर्ने ७८० जना सिटिजन लिडर, एजेन्सी म्यानेजर, अभिकर्ता तथा शाखाहरूलाई विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरिएको कम्पनीले जनाएको छ।

पुरस्कारतर्फ बुटवल शाखा सर्वाधिक बीमाशुल्क संकलन गर्दै देशकै उत्कृष्ट शाखा घोषित भयो। भेषराज भट्टराई उत्कृष्ट स्टार एजेन्सी म्यानेजर बन्दै सर्वाधिक बीमाशुल्क संकलनतर्फ प्रथम भए भने नितेश श्रेष्ठ उत्कृष्ट लिडरका रूपमा प्रथम स्थान हासिल गर्न सफल भए। त्यसैगरी गीता पौडेल सर्वाधिक बीमालेख जारी गर्ने अभिकर्ताका रूपमा प्रथम भइन् भने दिलबहादुर धामी सर्वाधिक अभिकर्ता भर्ती गर्ने विधामा प्रथम घोषित भए।

कार्यक्रममा कम्पनीका ब्रान्ड एम्बेसडर हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको विशेष उपस्थिति तथा हास्य कलाकार सुन्दर खनालको प्रस्तुतीले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

पछिल्ला वर्षहरूमा व्यवसाय विस्तार, डिजिटल रूपान्तरण, सेवा गुणस्तर तथा बीमाशुल्क संकलनमा उल्लेखनीय वृद्धि गर्दै आएको सिटिजन लाइफ हाल नेपालका अग्रणी जीवन बीमा कम्पनीमध्ये एकका रूपमा स्थापित छ। कम्पनीले यस्ता कार्यक्रममार्फत अभिकर्ताको क्षमता अभिवृद्धि, उत्प्रेरणा र दीर्घकालीन व्यवसायिक विकासलाई निरन्तर प्राथमिकता दिँदै आएको जनाएको छ।

सम्बन्धित समाचार