free website hit counter

ग्लोबल आइएमई बैंकको नाफा २२.६७ प्रतिशतले बढ्यो

beemaadmin
२०८३ श्रावण २०, बुधबार

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकले खुद नाफा, सञ्चालन मुनाफा, गैरब्याज आम्दानी तथा प्रतिशेयर आम्दानी (ईपीएस) लगायत अधिकांश प्रमुख वित्तीय सूचकमा उल्लेखनीय सुधार हासिल गरेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले ६ अर्ब २२ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा ५ अर्ब ७ करोड ६३ लाख रुपैयाँ रहेको थियो। यस आधारमा बैंकको खुद नाफा २२.६७ प्रतिशतले वृद्धि भएको छ।

यद्यपि, बैंकको खुद ब्याज आम्दानी भने सामान्य घटेको छ। अघिल्लो वर्ष १६ अर्ब ६७ करोड ९९ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी समीक्षा अवधिमा २.८६ प्रतिशतले घटेर १६ अर्ब २० करोड ३० लाख रुपैयाँमा सीमित भएको छ।

बैंकको गैरब्याज आम्दानीमा भने उल्लेखनीय सुधार देखिएको छ। खुद फि तथा कमिसन आम्दानी ३ अर्ब २२ करोड १७ लाख रुपैयाँबाट बढेर ३ अर्ब ६४ करोड ५ लाख रुपैयाँ पुगेको छ। यससँगै कुल सञ्चालन आम्दानी पनि २.६१ प्रतिशतले वृद्धि हुँदै २१ अर्ब ८० करोड ३९ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ।

सञ्चालनतर्फ पनि बैंकले सकारात्मक प्रदर्शन गरेको छ। सञ्चालन मुनाफा २० प्रतिशतले बढेर ८ अर्ब ६८ करोड २१ लाख रुपैयाँ पुगेको छ भने वितरणयोग्य मुनाफा ४ अर्ब ५ करोड २८ लाख रुपैयाँबाट बढेर ४ अर्ब ५८ करोड १० लाख रुपैयाँ पुगेको छ।

बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) १३ रुपैयाँ ३२ पैसाबाट बढेर १६ रुपैयाँ ३४ पैसा पुगेको छ। आधार दर भने ५.७६ प्रतिशतबाट घटेर ४.७५ प्रतिशतमा झरेको छ।

यद्यपि, खराब कर्जाको अनुपात (एनपीएल) मा सामान्य वृद्धि देखिएको छ। अघिल्लो वर्ष ४.८६ प्रतिशत रहेको एनपीएल समीक्षा अवधिमा ४.९६ प्रतिशत पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ भने १८३ रुपैयाँ १४ पैसा कायम रहेको वित्तीय विवरणमा उल्लेख छ।

सम्बन्धित समाचार