free website hit counter

लगानीको वातावरण तर आत्मविश्वासकाे अभाव

beemaadmin
२०८३ श्रावण २०, बुधबार

काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूले मुलुकमा लगानीको वातावरण नभएको भन्ने धारणा वास्तविकताभन्दा बाहिर रहेको बताएका छन्। उनीहरूले केही नीतिगत तथा नियामकीय सुधार आवश्यक भए पनि अर्थतन्त्र विस्तारै सुधारको दिशातर्फ अघि बढिरहेको र लगानीको माग पुनः बढ्न थालेको संकेत देखिएको बताएका हुन्।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा मंगलबार अर्थ मन्त्रालयले आयोजना गरेको वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँगको छलफलमा बैंकरहरूले बैंकिङ क्षेत्रले केही पुराना नियामकीय व्यवस्थाका कारण चुनौती सामना गरिरहेको भए पनि ती समस्या समाधान गर्न सकिने बताएका छन्।

बैंकरहरूका अनुसार जलविद्युत् क्षेत्रमा लगानीका लागि बैंकहरूबीच तीव्र प्रतिस्पर्धा छ भने अन्य क्षेत्रमा पनि क्रमशः लगानीको माग बढ्ने संकेत देखिन थालेको छ। सरकार र नेपाल राष्ट्र बैंकले केही नीतिगत सहजीकरण गरे अर्थतन्त्र अझ गतिशील बन्ने उनीहरूको धारणा थियो।

नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले जलविद्युत् क्षेत्रमा बढ्दो लगानीलाई थप सहज बनाउन सरकार सक्रिय हुनुपर्ने बताए। ठूला आयोजना समयमै सम्पन्न गर्ने र साना तथा ठूला व्यवसायीको विश्वास जित्ने नीति आवश्यक रहेको उनको भनाइ थियो।

सिटिजन्स इन्टरनेसनल बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश पोखरेलले बैंकिङ क्षेत्रको वर्तमान अवस्थालाई अस्थायी चक्रका रूपमा बुझ्नुपर्ने बताए।

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मीले बजारमा व्यवसायीको आत्मविश्वास बढाउन सरकार र नियामक निकायले विशेष ध्यान दिनुपर्ने बताए। उनले बैंकहरूको कर्जा विस्तार क्षमता बढाउन नीतिगत सहजीकरण तथा गैरबैंकिङ सम्पत्ति व्यवस्थापन कम्पनी शीघ्र सञ्चालनमा ल्याउन आग्रह गरे।

एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले कर्जा विस्तार ग्रामीण क्षेत्र र विपन्न वर्गसम्म पुर्‍याउनुपर्नेमा जोड दिँदै सरकारले पुँजीगत खर्च बढाएर अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने धारणा राखे।

हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले नयाँ आर्थिक वर्षसँगै उद्योगी–व्यवसायीमा लगानीको उत्साह बढ्न थालेको बताए।

एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित शाक्यले कोभिडकालमा प्रवाह भएका साना व्यवसायीका कर्जासम्बन्धी समस्या समाधानका लागि विशेष नीतिगत व्यवस्था आवश्यक रहेको बताए। उनले एक वर्षमै शतप्रतिशत कर्जा प्रोभिजन गर्नुपर्ने व्यवस्था पुनरावलोकन गर्न आग्रह गरे।

स्ट्यान्डर्ड चार्टर्ड बैंकका गोरखशमशेर राणाले चालु पुँजी कर्जासम्बन्धी व्यवस्था पुनः समीक्षा गर्नुपर्ने बताए भने सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वर बस्यालले अर्थतन्त्रमा देखिएको संकुचनले कर्जाको गुणस्तरमा असर परेको उल्लेख गर्दै प्रोभिजनिङ नीतिमा पुनर्विचार गर्न सुझाव दिए।

नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले आर्थिक विस्तारका लागि सरकारले ठूला पूर्वाधार आयोजनामा लगानी बढाउनुपर्ने बताए।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले जलविद्युत्जस्तै खाद्यान्न र निर्माण क्षेत्रमा पनि छिट्टै लगानीको माग बढ्ने अपेक्षा व्यक्त गर्दै जबर्जस्ती मर्जरबाट प्रभावित बैंकहरूलाई विस्तारमा कठिनाइ भइरहेको बताए।

लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाहले साना तथा मझौला उद्यम (एसएमई) मा लगानी विस्तार गर्नुपर्नेमा जोड दिँदै व्यवसायी र बैंकिङ क्षेत्रलाई त्रसित बनाउने वातावरण अन्त्य गर्न सरकारसँग आग्रह गरे। रियल स्टेट क्षेत्रमा लगानी अड्किएकाले पनि अर्थतन्त्र सुस्त बनेको उनको भनाइ थियो।

प्राइम कमर्शियल बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धरले पछिल्लो समय बैंक तथा व्यवसायीमाथि बढेको धरपकडले निजी क्षेत्रको मनोबल कमजोर बनेको बताए।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले खराब कर्जासम्बन्धी प्रोभिजनिङ नीति परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याउँदै कालोसूची व्यवस्थालाई पनि व्यावहारिक बनाउनुपर्ने धारणा राखे।

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक पाण्डेले बैंकहरूमा थुप्रिएको गैरबैंकिङ सम्पत्तिको व्यवस्थापनका लागि सरकारले प्रभावकारी समाधान अघि बढाउनुपर्ने बताए।

सम्बन्धित समाचार