काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले नाफा, निक्षेप, कर्जा विस्तार तथा सम्पत्ति गुणस्तरलगायत अधिकांश प्रमुख वित्तीय सूचकमा उल्लेखनीय सुधार हासिल गरेको छ।
समीक्षा अवधिमा बैंकले ७ अर्ब ९० करोड ५७ लाख ९६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको ५ अर्ब ९२ करोड २१ लाख ४४ हजार रुपैयाँको तुलनामा ३३.५० प्रतिशत बढी हो।
बैंकको खुद ब्याज आम्दानी पनि ४.१८ प्रतिशतले बढेर १७ अर्ब ९२ लाख ८८ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो आम्दानी १६ अर्ब ३२ करोड ७२ लाख ८१ हजार रुपैयाँ थियो।
त्यस्तै, खुद शुल्क तथा कमिसन आम्दानी ३ अर्ब ५४ करोड १० लाख ७९ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी २२ अर्ब ३३ करोड ४३ लाख ६१ हजार रुपैयाँ र सञ्चालन नाफा ११ अर्ब ५६ करोड ४२ लाख २६ हजार रुपैयाँ पुगेको छ। यी सबै सूचक अघिल्लो वर्षको तुलनामा सुधारिएका हुन्।
बैंकको वितरणयोग्य नाफा ५ अर्ब १६ करोड ९१ लाख ४८ हजार रुपैयाँ पुगेको छ। यसका आधारमा बैंकको लाभांश वितरण क्षमता १९.१० प्रतिशत रहेको छ।
समीक्षा अवधिमा बैंकको निक्षेप संकलन १२.९५ प्रतिशतले बढेर ५ खर्ब ९२ अर्ब ५५ करोड ९३ लाख रुपैयाँ पुगेको छ भने कर्जा लगानी १२ प्रतिशतले वृद्धि भई ४ खर्ब ६० अर्ब ३१ करोड ८७ लाख रुपैयाँ पुगेको छ। बैंकको सीडी रेसियो (निक्षेप–कर्जा अनुपात) ८०.१८ प्रतिशत कायम रहेको छ।
बैंकको चुक्ता पुँजी ३२ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ रहेको छ भने जगेडा कोष ३४ अर्ब ६८ करोड ४ लाख २० हजार रुपैयाँ पुगेको छ।
नाफा बढेसँगै प्रतिशेयर आम्दानी (ईपीएस) पनि २१.८९ रुपैयाँबाट बढेर २८.३६ रुपैयाँ पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ २४७.२८ रुपैयाँ तथा मूल्य–आम्दानी अनुपात (पीई रेसियो) १८.८६ गुणा रहेको छ।
सम्पत्ति गुणस्तरतर्फ पनि बैंकले सुधार गरेको छ। खराब कर्जा (एनपीएल) अघिल्लो वर्षको ४.४८ प्रतिशतबाट घटेर ४.२० प्रतिशतमा झरेको छ, जसले बैंकको कर्जा व्यवस्थापनमा सुधार आएको संकेत गरेको छ।