काठमाडौं, ६ साउन — नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदका लागि नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको छ। अर्थ मन्त्रालयको कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले खुला प्रतिस्पर्धामार्फत पाँच जना उम्मेदवारलाई अन्तिम सूची (सर्टलिस्ट)मा समावेश गरेको हो।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार उम्मेदवारहरूको शैक्षिक योग्यता, कार्यअनुभव तथा उनीहरूले पेस गरेको व्यावसायिक एवं वित्तीय कार्ययोजनाको मूल्याङ्कनपछि अन्तर्वार्ताका लागि पाँच जनाको नाम छनोट गरिएको हो।
अन्तिम सूचीमा अर्जुनकुमार गौतम, गोपाल घिमिरे, पर्वतकुमार कार्की, यज्ञप्रकाश न्यौपाने र समता पन्त भट्ट परेका छन्।
छनोटमा परेका उम्मेदवारहरूले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आफ्नो व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणसहित अन्तर्वार्ता दिनुपर्नेछ। त्यसपछि छनोट तथा सिफारिस समितिले उपयुक्त उम्मेदवारको नाम सरकारलाई सिफारिस गर्नेछ।
समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले नागरिक लगानी कोषको नयाँ कार्यकारी निर्देशक नियुक्त गर्नेछ।
अर्थ मन्त्रालयले कोषको नेतृत्वका लागि दक्ष, अनुभवी र सक्षम व्यक्तिको छनोट सुनिश्चित गर्न प्रतिस्पर्धात्मक प्रक्रिया अवलम्बन गरिएको जनाएको छ।