free website hit counter

लियोनल मेसीका पिता जर्ज मेसीको निधन

beemaadmin
२०८३ श्रावण २४, आईतवार

काठमाडौं । अर्जेन्टिनाका विश्वप्रसिद्ध फुटबल खेलाडी लियोनल मेसीका पिता जर्ज मेसीको निधन भएको छ।

६८ वर्षीय जर्जको शुक्रबार राति अर्जेन्टिनाको रोसारियोस्थित एक अस्पतालमा निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ। उनी लामो समयदेखि स्वास्थ्य समस्याबाट पीडित थिए।

परिवारका अनुसार पछिल्ला केही महिनादेखि जर्जले रोसारियोस्थित स्वास्थ्य केन्द्र र आफ्नै घरमा उपचार तथा आराम गर्दै आएका थिए। निधनका समयमा उनकी पत्नी सेलिया तथा छोराछोरी रोड्रिगो, माटियास र मारिया सोल उनको साथमा थिए।

अमेरिकामा भएको फिफा विश्वकपपछि लियोनल मेसीले पनि आफ्ना पितासँग केही समय बिताएका थिए। त्यसपछि उनी आफ्नो क्लब इन्टर मायामीमा फर्किएका थिए। क्लबका लागि उनी करिब एक साताअघि मात्रै मैदानमा फर्किएका थिए। परिवारनिकट स्रोतका अनुसार पिताको निधनपछि मेसी अर्जेन्टिना जाने तयारीमा छन्।

जर्ज मेसीले लियोनलको फुटबल यात्राको सुरुदेखि नै महत्वपूर्ण साथ दिएका थिए। बार्सिलोनामा मेसीको प्रारम्भिक करिअरदेखि नै जर्ज उनको व्यावसायिक यात्राका प्रमुख सहयोगी थिए। उनले लामो समयसम्म मेसीका प्रतिनिधिका रूपमा समेत काम गरेका थिए।

मेसीले यसअघि आफ्ना पितासँगको सम्बन्धबारे बोल्दै बाल्यकालदेखि नै आफूलाई पिताको स्वीकृति महत्वपूर्ण हुने गरेको बताएका थिए। उनले हरेक खेलपछि आफ्नो प्रदर्शनबारे पितासँग प्रतिक्रिया लिने गरेको स्मरण गरेका थिए।

विश्वकपका क्रममा पनि पिताको स्वास्थ्य अवस्थाका कारण मेसी भावनात्मक रूपमा कठिन अवस्थामा रहेको संकेत गरेका थिए। अल्जेरियाविरुद्धको उद्घाटन खेलमा ह्याट्रिक गरेपछि पहिलो गोलको खुसी मनाउने क्रममा उनी भावुक हुँदै रोएका थिए।

त्यसपछि पत्रकार सम्मेलनमा मेसीले आफू रोएको कारण फुटबलसँग सम्बन्धित नभएको बताएका थिए। आफू केही कठिन र जटिल दिनबाट गुज्रिरहेको उनको भनाइ थियो। केही दिनपछि मेसी परिवारले जर्जको स्वास्थ्य अवस्थाबारे सार्वजनिक जानकारी दिँदै उनी उपचाररत रहेको जनाएको थियो।

जर्जको निधनपछि मेसीका पूर्वक्लब बार्सिलोना, उनको बाल्यकालको क्लब नेवेल्स ओल्ड ब्वाइज, रियल म्याड्रिड तथा अर्जेन्टिना फुटबल संघलगायतले शोक व्यक्त गरेका छन्।

अर्जेन्टिना फुटबल संघले देशका सबै तहका खेलमा एक मिनेट मौनधारण गर्ने तथा खेलाडी, प्रशिक्षक र रेफ्रीहरूले कालोपट्टी बाँध्ने जनाएको छ। संघले शोकसन्तप्त मेसी परिवारप्रति ऐक्यबद्धता जनाउँदै यस कठिन समयमा परिवारलाई शक्ति मिलोस् भन्ने कामना गरेको छ।

मेसीले आफ्नो व्यावसायिक करिअरको अधिकांश समय बिताएको बार्सिलोनाले पनि जर्ज मेसीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। क्लबले लियोनल मेसीको फुटबल करिअरको सुरुआतदेखि नै जर्जले पुर्‍याएको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना जनाएको छ।

लियोनल मेसीले सन् २००४ मा बार्सिलोनाको सिनियर टोलीबाट व्यावसायिक खेल जीवन सुरु गरेका थिए र सन् २०२१ सम्म उक्त क्लबमा रहे। उनका पिताको निधनपछि अर्जेन्टिना तथा विश्व फुटबल जगतमा उनीप्रति समवेदना व्यक्त गर्ने क्रम जारी छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार जर्जको पार्थिव शरीर आइतबार रोसारियोनजिकैको पेरेज सहरस्थित एल प्राडो निजी चिहानमा अन्त्येष्टिका लागि लगिनेछ।

सम्बन्धित समाचार