free website hit counter

सन्दीप लामिछाने बने नेपाली एकदिवसीय क्रिकेट टोलीका नयाँ कप्तान

beemaadmin
२०८३ श्रावण २६, मंगलवार

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय एकदिवसीय क्रिकेट टोलीको कप्तानमा सन्दीप लामिछानेलाई नियुक्त गरेको छ। क्यानले रोहित पौडेललाई हटाउँदै लामिछानेलाई एकदिवसीय टोलीको नेतृत्वको जिम्मेवारी दिएको हो।

यसअघि क्यानले दीपेन्द्रसिंह ऐरीलाई टी–२० टोलीको कप्तान बनाइसकेको छ। क्रिकेट विश्वकप लिग–२ मा नेपालको लगातार कमजोर प्रदर्शनपछि राष्ट्रिय टोलीको नेतृत्वमा परिवर्तन गरिएको देखिएको छ।

Advertisement
Advertisement

रोहित पौडेलको कप्तानीमा नेपालले पछिल्ला वर्षमा महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थियो। उनको नेतृत्वमा नेपालले दुई टी–२० विश्वकप तथा एसिया कपमा सहभागिता जनाएको थियो। त्यस्तै, नेपालले इंग्ल्याण्ड, वेस्ट इन्डिज, भारत, पाकिस्तान, दक्षिण अफ्रिका र बंगलादेशजस्ता बलिया टोलीसँग पनि एकदिवसीय तथा टी–२० क्रिकेट खेलेको थियो।

Advertisement
Advertisement

तर पछिल्लो समय रोहितको व्यक्तिगत प्रदर्शनमा निरन्तर गिरावट देखिएसँगै टोलीको समग्र प्रदर्शनसमेत अपेक्षाअनुसार हुन सकेन। विशेषगरी विश्वकप लिग–२ मा लगातार कमजोर नतिजा आएपछि क्यानले कप्तानी परिवर्तन गर्ने निर्णय गरेको हो।

सन्दीप लामिछाने यसअघि पनि नेपाली राष्ट्रिय टोलीको कप्तानी गरिसकेका खेलाडी हुन्। उनी कप्तान रहँदा कानुनी विवादमा परेपछि क्यानले उनलाई कप्तानी जिम्मेवारीबाट हटाएको थियो। पछि उनी राष्ट्रिय टोलीमा फर्किए पनि कप्तानीको जिम्मेवारी रोहित पौडेलले निरन्तर सम्हाल्दै आएका थिए।

अब लामिछानेले पुनः नेपाली टोलीको नेतृत्व गर्ने भएका छन्। उनको कप्तानीमा नेपालले आगामी एसीसी प्रिमियर कप खेल्नेछ। प्रतियोगिता अगस्ट ३० देखि सेप्टेम्बर १२ सम्म मलेसियामा आयोजना हुँदैछ।

लामिछानेको पुनरागमनसँगै नेपाली क्रिकेटमा नयाँ कप्तानी युग सुरु भएको छ। अब उनको नेतृत्वमा नेपालले पछिल्लो समय खस्किएको प्रदर्शन सुधार गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा पुनः लय समात्न सक्छ कि सक्दैन भन्ने चासो बढेको छ।

सम्बन्धित समाचार